काठमाडौँस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै पूजाआजा, होम, हवन तथा दियो बाल्न प्रयोग गरिने अखाद्य चिल्लो पदार्थलाई घिउको नाममा उत्पादन, भण्डारण र बिक्री वितरण गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। नयाँ निर्देशन अनुसार धार्मिक कार्यका लागि तयार पारिएका कुनै पनि चिल्लो पदार्थलाई घिउ, वनस्पति घिउ, बेकरी सर्टेनिङ वा पूजा घिउको रूपमा बजारमा पठाउन पाइने छैन।

बजार अनुगमन तथा उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा विभागले यो कडा कदम चालेको हो। अध्ययनका क्रममा केही उद्योगी तथा व्यवसायीले वनस्पति घिउ, बेकरी सर्टेनिङ, परिष्कृत तेल, सुगन्ध, प्याराफिन, खनिज तेल र अन्य रासायनिक पदार्थ मिसाएर पूजाका लागि चिल्लो पदार्थ उत्पादन गरी बिक्री गर्दै आएको पाइएको थियो। यस्ता उत्पादनको स्वरूप, रङ, गन्ध र प्याकेजिङ खाने घिउसँग दुरुस्तै मिल्ने भएकाले सर्वसाधारण झुक्किएर भान्सामा प्रयोग गर्ने र स्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम देखिएको विभागको ठहर छ।

विभागले जारी गरेको नयाँ मापदण्ड अनुसार पूजाका लागि उत्पादन गरिने चिल्लो पदार्थको लेबलमा घिउ, वनस्पति घिउ वा बेकरी सर्टेनिङ जस्ता शब्द उल्लेख गर्न पाइने छैन। साथै, यस्ता उत्पादनको प्याकेटको अगाडि स्पष्ट देखिने गरी ठूलो अक्षरमा 'खानको लागि होइन' लेख्नुपर्नेछ र कालो रङको क्रस चिह्न 'X' अनिवार्य रूपमा राख्नुपर्नेछ। यता खाने घिउ तथा वनस्पति घिउ उत्पादकहरूले पनि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिमका लेबल विवरणहरू अनिवार्य उल्लेख गर्नुपर्ने निर्देशन दिइएको छ।

ADVERTISEMENT Nepal Aaja Register

खाद्य र अखाद्य उत्पादनबिचको मिसावट रोक्न तथा उपभोक्ता झुक्याउने प्रवृत्तिको अन्त्य गर्न सरकारले यो कदम चालेको जनाएको छ। विभागले सरकारी निर्देशनको अवज्ञा गरी आदेशविपरीत कार्य गरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ।

यस कडाइले बजारमा हुने अखाद्य मिसावट नियन्त्रण भई उपभोक्ताको स्वास्थ्य सुरक्षामा टेवा पुग्ने अपेक्षा गरिएको छ।