सिङ्गापुरको सिङ्गा ओभल मैदानमा आइतबार बिहान सम्पन्न सेमिफाइनल खेलमा नेपालले ओमानमाथि आठ विकेटको सहज जित निकाल्दै एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

प्रतियोगिताको विवरण अनुसार ओमानले प्रस्तुत गरेको ९५ रनको सामान्य लक्ष्यलाई पछ्याएको नेपाली टोलीले मात्र २ विकेट गुमाएर ९.२ ओभरमै सफलतापूर्वक जित हासिल गर्‍यो।

नेपालको जितमा आक्रामक ब्याटिङ गरेका लोकेश बमले सर्वाधिक ४४ रनको योगदान दिएर अविजित रहे। उनलाई कप्तान रोहित पौडेलले २१ रन बनाउँदै क्रिजमा साथ दिएका थिए। त्यसअघि प्रारम्भिक ब्याटर कुशल भुर्तेलले २० रन जोडेका थिए भने आसिफ शेख मात्र १ रनमा पेभेलियन फर्किए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको ओमान नेपाली बलरहरूको कसिलो बलिङसामु निरिह देखियो। पूरै ओभर खेल्न नसकी ओमान १९.४ ओभरमा ९४ रनमै अलआउट हुन पुग्यो। ओमानका लागि कप्तान सुफियान मेहमुदले सर्वाधिक ३८ रन र जुबेर अली अकबरले २२ रन जोड्नु बाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।

नेपालका तर्फबाट घातक बलिङ गर्दै करण केसीले ३ विकेट चट्काए। त्यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ विकेट लिए भने शाहब आलम, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको भागमा १-१ विकेट रह्यो।

यो जितसँगै नेपाल फाइनलमा पुगे पनि सेमिफाइनल पुगेका चारवटै टोलीहरू एसियन गेम्सका लागि यसअघि नै छनोट भइसकेका छन्। नेपाली टोलीले अब उपाधिका लागि आइतबार नै दिउँसो हुने हङकङ र मलेसियाबीचको खेलको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।