काठमाडौंस्थित भारतीय दूतावास र वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले २१ जुन २०२६ मा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपालका विभिन्न स्थानमा २२ वटा योग कार्यक्रमहरू आयोजना गरेका छन्। उक्त उत्सवहरूमा नेपालका ११ वटा सहर तथा नगरपालिकाहरूका १३ हजारभन्दा बढी योग प्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो। यस वर्षका कार्यक्रमहरू काठमाडौं, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगन्ज, हेटौंडा, सखुवा प्रसौनी, पोखरिया र बरियारपुरमा सञ्चालन गरिएका थिए।

यस वर्षको नारा "स्वस्थ बुढ्यौलीका लागि योग" अनुरूप भारतीय दूतावासले १५ मे २०२६ मा पवित्र पशुपतिनाथ मन्दिरमा योग प्रदर्शन सहितको प्रारम्भिक कार्यक्रम आयोजना गरेको थियो। त्यसपछि काठमाडौं उपत्यकाका छ वटा युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरू पशुपतिनाथ मन्दिर, काठमाडौं दरबार स्क्वायर, बौद्धनाथ स्तूप, स्वयम्भूनाथ स्तूप, चाँगुनारायण मन्दिर र पाटन दरबार स्क्वायरमा योग आसन प्रदर्शन गरिएका थिए। ती कार्यक्रमहरूमा स्थानीय अधिकारी, सेलिब्रेटी, सामाजिक सञ्जालका प्रभावकार र नेपाली तथा भारतीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
शैक्षिक क्षेत्रलाई समेट्दै ५ जुन २०२६ मा काठमाडौंस्थित केन्द्रीय विद्यालयको प्राङ्गणमा २०० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा योग सत्र सञ्चालन गरिएको थियो। यसैगरी दूतावासले १६ जुन २०२६ मा त्रिभुवन विश्वविद्यालयको आयुर्वेद क्याम्पससँग सहकार्य गरी योग कार्यक्रम र आयुर्वेद प्रदर्शनी आयोजना गरेको थियो। उक्त प्रदर्शनीमा विद्यार्थीहरूका लागि आयुर्वेदिक उत्पादनहरूको प्रदर्शन गरिनुका साथै मानसिक स्वास्थ्यका लागि आयुर्वेदको महत्त्वबारे विशेष व्याख्यान समेत प्रस्तुत गरिएको थियो।

योग उत्सवलाई देशका पर्यटकीय तथा आध्यात्मिक स्थलहरूमा समेत विस्तार गरियो, जसअन्तर्गत १९ जुन २०२६ मा लमजुङमा मध्यनेपाल नगरपालिकासँगको सहकार्यमा योग प्रदर्शन गरियो। पोखराको सारङकोट, पुम्दीकोटस्थित शिव मन्दिर र शान्ति स्तूपमा योग प्रदर्शन गरिनुका साथै २० जुन २०२६ मा फेवातालको किनारमा ४०० भन्दा बढीको सहभागितामा ध्यान सत्र सञ्चालन भयो। सोही दिन लुम्बिनी विकास कोषको सहकार्यमा लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आयोजित विशेष कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा ६०० भन्दा बढीले योग अभ्यास गरेका थिए।
यस वर्षको उत्सवको मुख्य आकर्षण २१ जुन २०२६ मा पोखराको रङ्गशालामा आयोजित विशाल योग प्रदर्शन रह्यो, जहाँ ८ हजारभन्दा बढी योग साधकहरू सहभागी थिए। पोखरा महानगरपालिकासँगको सहकार्यमा भएको उक्त कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथि र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। वीरगन्जस्थित महावाणिज्य दूतावासले पनि जनकपुर, चितवन, वीरगन्ज, हेटौंडा, सखुवा प्रसौनी, पोखरिया र बरियारपुरमा कार्यक्रमहरू गरेर योगको बढ्दो लोकप्रियता र भारत-नेपालबीचको जनस्तरको बलियो सम्बन्धलाई उजागर गरेको छ।