रसुवास्थित भोटेकोसी नदीमा बुधबार आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका मानिसको खोजी, उद्धार तथा राहतका लागि राज्य संयन्त्र पूर्ण रूपमा परिचालित भएको छ। बाढी प्रभावित क्षेत्रका करिब १२ हजार मानिसको खोजीका लागि शुक्रबार मध्यान्हसम्म १ हजार ५ सय ६७ जनाले 'सेतु' एपमार्फत सहयोग अनुरोध गरेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फाराममार्फत खोजीका लागि विवरण पठाइएकामध्ये १ सय ४४ जनासँग पुनः सम्पर्क स्थापित भइसकेको छ। यद्यपि, एउटै व्यक्तिका लागि एकभन्दा बढी निवेदन परेको हुन सक्ने भएकाले डुप्लिकेट विवरण हटाएर वास्तविक तथ्यांक तयार गर्ने काम भइरहेको छ।
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाउन सरकारका विभिन्न निकाय एकैसाथ परिचालित भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बिहीबार बिहान नुवाकोटको विदुर क्षेत्र पुगेर बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको थियो।
प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धारकर्मीसँगको भेटपछि प्रधानमन्त्री शाहले अवस्था अझै चुनौतीपूर्ण रहेको बताउनुभएको छ। उहाँले एक-एक नागरिकको जीवनरक्षा, बेपत्ता व्यक्तिको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पार्नुभएको छ। प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउँदै आगामी कदम चालिनेछ।