नेपाल र भारतबीच सीमा व्यवस्थापन, सुरक्षा मामिला, व्यापार, विद्युत् क्षेत्रको सहकार्य, जलस्रोत, रेलवे तथा ऊर्जालगायतका क्षेत्र समेट्ने ४० भन्दा बढी द्विपक्षीय संस्थागत संयन्त्रहरू रहेका छन्, जसका बैठकहरू नियमित रूपमा बस्दै आएका छन्। तीमध्ये धेरै संयन्त्रका बैठक पछिल्लो एक वर्षमा सम्पन्न भएका छन्।
भारतका प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीबीच सामाजिक सञ्जालमा सन्देश आदानप्रदान हुनुका साथै टेलिफोन संवादसमेत भएको छ, जसमा अगस्ट २६ मा भोटेकोशीमा आएको बाढीपछिको संवाद पनि समावेश छ।
व्यापार तथा वाणिज्य
भारत नेपालको सबैभन्दा ठूलो व्यापार, पारवहन तथा लगानी साझेदार हो। नेपालको कुल बाह्य वस्तु व्यापारको करिब ६० प्रतिशत हिस्सा भारतसँगको व्यापारले ओगटेको छ। भारत नेपालमा वैदेशिक लगानीको सबैभन्दा ठूलो स्रोत पनि हो, जसले कुल प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को झन्डै एक तिहाइ हिस्सा ओगट्छ।
विकास साझेदारी
सन् २००३ यता नेपालका ७४ जिल्लामा ६०० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालन भएका छन्। ठूला परियोजनाअन्तर्गत भारतको सहयोगमा पनौतीमा नेपालको नयाँ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण गरिएको छ। यसका साथै, भारतले नेपाललाई ४,४०० भन्दा बढी सवारीसाधन उपलब्ध गराएको छ, जसमा मार्च २०२६ मा सम्पन्न निर्वाचनका लागि प्रदान गरिएका ६५० सवारीसाधनसमेत सामेल छन्।
राहत तथा पुनर्निर्माण
सन् २०१५ को गोरखा भूकम्पपछि भारतले ५०,००० निजी आवास, ७१ शैक्षिक परियोजना, १२८ स्वास्थ्य संस्था र २१ सांस्कृतिक परियोजनाको पुनर्निर्माणमा सहयोग गरेको थियो।
अगस्ट २०२६ मा भोटेकोशीमा आएको आकस्मिक बाढीपछि भारतले करिब १४० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार विज्ञ र फरेन्सिक सहयोगसमेत प्रदान गरेको थियो।
विद्युत् क्षेत्रमा सहकार्य
दीर्घकालीन विद्युत् व्यापार सम्झौताले १० वर्षको अवधिमा नेपालबाट भारततर्फ १०,००० मेगावाटसम्म विद्युत् आयात गर्ने परिकल्पना गरेको छ। नेपालले हाल वार्षिक करिब १,२०० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ।
सन् २०२४ को नोभेम्बरदेखि नेपालले भारतीय ग्रिडमार्फत बङ्गलादेशमा समेत विद्युत् निर्यात गरिरहेको छ। भारतीय कम्पनीहरू हाल निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनालगायत विभिन्न जलविद्युत् परियोजनाको विकासमा संलग्न छन् भने प्रसारण लाइन विस्तारको काम पनि भइरहेको छ।
ऊर्जा सन् २०१९ मा मोतीहारी र अमलेखगन्जबीच पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा ल्याइएको थियो। ऊर्जा कनेक्टिभिटीलाई थप सुदृढ बनाउन दुवै पक्षले अहिले नयाँ पाइपलाइन र टर्मिनल निर्माणको सम्भावनाबारे अध्ययन गरिरहेका छन्।
कनेक्टिभिटी
हाल नेपालगन्ज, वीरगन्ज र विराटनगरमा गरी तीनवटा एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा छन्। भैरहवास्थित आईसीपी निर्माणको अन्तिम चरणमा पुगेको छ भने दोधारा चाँदनीस्थित आईसीपी निर्माणाधीन अवस्थामा छ।
भारतीय पक्षको सहयोगमा जयनगर–कुर्था–बिजलपुरा र जोगबनी–नेपाल भन्सार यार्ड, विराटनगर जोड्ने रेलमार्गहरू विकास गरिएका छन्।
स्टार्टअप
भारत–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क (इन–स्पान) अन्तर्गत सन् २०२५ यता चेन्नईस्थित आईआईटी मद्रास प्रवर्तकमा ४९ नेपाली स्टार्टअपहरूलाई तालिम प्रदान गरिएको छ।
छात्रवृत्ति तथा तालिम
नेपाली विद्यार्थीहरूका लागि कक्षा ६ देखि विद्यावारिधि (पीएचडी) तहसम्म हरेक वर्ष १,५०० वार्षिक छात्रवृत्ति प्रदान गरिँदै आएको छ। सन् २००१ यता भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आईटीईसी) पाठ्यक्रमअन्तर्गत नेपालका ३,८०० भन्दा बढी पेसाकर्मी, सरकारी अधिकारी र रक्षाकर्मीहरूले तालिम प्राप्त गरिसकेका छन्।
पर्यटन
नेपाल आउने विदेशी पर्यटकहरूको सबैभन्दा ठूलो स्रोत भारत नै हो।
क्रिकेट
भारत सरकार र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले नेपाल क्रिकेट सङ्घ (क्यान) सँगको साझेदारीमा सन् २०२४, २०२५ र २०२६ मा बेङ्गलुरुस्थित सेन्टर अफ एक्सिलेन्समा नेपाली टोलीको प्रशिक्षणको व्यवस्था मिलाएका छन्। साथै, नेपाली राष्ट्रिय टोलीहरूका लागि अभ्यास खेलहरूसमेत आयोजना गरिएका छन्। नेपाली यू–१९ क्रिकेटरहरूका लागि पनि प्रशिक्षण तथा क्रिकेट किटहरू उपलब्ध गराइएको छ।