नेपालमा राष्ट्रिय एकता र सामूहिक भावनाको बलियो माध्यम बन्दै गएको क्रिकेट खेललाई प्रवर्द्धन गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को टेलिभिजन प्रसारणमा साझेदारी गरेको छ। कम्पनीले प्रतियोगिताको आधिकारिक प्रसारणकर्ता हिमालय स्पोर्ट्स एचडीसँग 'पावर्ड बाइ' पार्टनरका रूपमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेको हो।
नेपाली खेलकुद जगत्मा बहुप्रतीक्षित मानिएको टी-२० ढाँचाको एनपीएल आगामी कात्तिक ८ गतेदेखि मङ्सिर २१ गतेसम्म सञ्चालन हुँदै छ। देशका विभिन्न भूगोल, समुदाय र उमेर समूहका नागरिकलाई एउटै सूत्रमा बाँध्ने क्रिकेटको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै नेपाल लाइफले यसको प्रसारण यात्रामा आफ्नो ब्रान्ड उपस्थितिलाई जोडेको छ।
नेपाल लाइफका अनुसार यो सहकार्य केवल व्यावसायिक प्रवर्द्धनमा मात्र सीमित नरहेर नेपालीहरू बीचको आत्मीयता र खेलप्रतिको साझा लगावलाई सम्मान गर्ने अवसर पनि हो। मैदानमा विभिन्न टोलीहरूबीच तीव्र प्रतिस्पर्धा भइरहँदा टेलिभिजनमार्फत देशभरका लाखौँ दर्शकलाई एउटै उत्साह र भावनामा जोड्न यस प्रसारण सहकार्यले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
देशभर छरिएर रहेका दर्शकहरूसम्म घरेलु क्रिकेटको उत्साह पुर्याउने लक्ष्य राखिएको यो सहकार्यले खेल क्षेत्रको विकास र कर्पोरेट क्षेत्रको सम्बद्धतालाई थप मजबुत बनाएको छ।