पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीहरूको अनुमतिपत्र खारेज गर्नेसम्मको कडा कानुनी कदम चालिने भएको छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कालोबजारीमा संलग्न petrol पम्प, ढुवानी गर्ने ट्याङ्कर र ग्यास डिलरको लाइसेन्स रद्द गर्न सरकार तथा मातहतका निकायलाई कडा निर्देशन दिएको छ।
सिंहदरबारमा आयोजित अत्यावश्यक दैनिक खाद्यवस्तुको सहज आपूर्ति व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा समिति सभापति रहबर अन्सारीले उपभोक्ता ठग्ने जोकोहीलाई कानुनी दायरामा ल्याई अधिकतम कारबाही गर्न ताकेता गर्नुभयो।
ग्यास र इन्धन क्षेत्रलाई पारदर्शी बनाउन सभापति अन्सारीले छुट्टै पेट्रोलियम ऐन तथा कालोबजारी नियन्त्रणसम्बन्धी कडा विधेयकको मस्यौदा अविलम्ब तयार पार्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ।
यसैगरी उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै होटल तथा रेस्टुरेन्टहरूमा पाम तेलमा हानिकारक रासायनिक पदार्थ मिसावट गर्ने प्रवृत्ति रोक्न तत्काल प्रभावकारी बजार अनुगमन टोली परिचालन गरिने भएको छ।