काठमाडौँ — गृह मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै गृहमन्त्री सुधन गुरुङले नेपालको इतिहासकै सबैभन्दा चर्चित र रहस्यमयी मानिएको नारायणहिटी दरबार हत्याकाण्डको अनुसन्धान प्रक्रियालाई पुनः अगाडि बढाउने प्रक्रिया सुरु गरेका छन्।

मंगलबार साँझ मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा उनले गरेका सुरुवाती चार प्रमुख निर्णयहरूमध्ये २०५८ जेठ १९ गते भएको उक्त बीभत्स हत्याकाण्डको फाइल खोल्ने र छानबिन अघि बढाउने विषयलाई प्राथमिकतामा राखेका हुन्। २४ वर्षअघि भएको उक्त घटनामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका सदस्यहरूको सामूहिक हत्या भएको थियो।

पूर्वराजा ज्ञानेन्द्रले क्लिन चिट पाउने सम्भावना र राजनीतिक तरंग

दरबार हत्याकाण्डपछि नेपालको राजनीतिक वृत्त र जनमानसमा विभिन्न टिकाटिप्पणी चल्दै आएका थिए। विशेषगरी घटनाको समयमा काठमाडौँ बाहिर रहेका र पछि राजा बनेका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि विभिन्न कोणबाट आशंका र आरोपहरू लाग्ने गरेका थिए।

अब सरकारले नै आधिकारिक रूपमा यस विषयमा निष्पक्ष र गम्भीर छानबिन अघि बढाएमा वर्षौँदेखि लाग्दै आएका ती आरोपहरूबाट पूर्वराजा ज्ञानेन्द्रले कानुनी रूपमै क्लिन चिट (दोषमुक्ति) पाउने सम्भावना प्रवल बनेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, यदि निष्पक्ष छानबिनमार्फत पूर्वराजपरिवारमाथि लाग्दै आएका भ्रम र आरोपहरू निवारण भएमा यसले देशमा 'राजसंस्था' र पूर्वराजपरिवारप्रति जनताको सहानुभूति तथा आकर्षण थप बढाउन सक्ने आंकलन गरिएको छ। वर्तमान राजनीतिक दलहरू र शासकीय व्यवस्थाप्रति नागरिकमा बढदो असन्तुष्टिका बीच यो निर्णयले नयाँ बहस सिर्जना गरेको छ।

डा. उपेन्द्र देवकोटाको ऐतिहासिक दाबी

 

यसअघि दरबार हत्याकाण्डको छानबिनका लागि गठित उच्चस्तरीय समितिमा रहेका तत्कालीन वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाले हत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्र शाहले नै मच्चाएको दाबी गरेका थिए। उपचारका क्रममा सैनिक अस्पतालमा दीपेन्द्रको स्वास्थ्य स्थिति र घटनाको प्राविधिक पक्षलाई नजिकबाट हेरेका डा. देवकोटाले आफ्ना विभिन्न अन्तर्वार्ताहरूमा घटनाको मुख्य कारक युवराज दीपेन्द्र नै रहेको र यसमा अन्य बाह्य शक्ति वा पूर्वराजा ज्ञानेन्द्रको हात नरहेको स्पष्ट पारेका थिए।

लामो समयदेखि ओझेलमा परेको यो संवेदनशील मुद्दालाई वर्तमान गृहमन्त्रीले ब्युँताएसँगै अबको अनुसन्धान कुन दिशामा अघि बढ्छ र यसले नेपालको राजनीतिमा कस्तो फेरबदल ल्याउँछ भन्ने विषय सर्वत्र चासोको केन्द्र बनेको छ।