नेपालले आफ्नो पर्यटन क्षेत्रलाई नयाँ पहिचान दिँदै बहुआयामिक कल्याणकारी गन्तव्यका रूपमा स्थापित गर्ने तयारी सुरु गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवर्द्धनका लागि दीर्घकालीन योजना अघि सारेको हो।

सरकारले राष्ट्रिय वेलनेस पर्यटन रणनीति २०२६-२०३५ र सोही अनुरूपको पाँच वर्षे कार्ययोजना सार्वजनिक गरेको छ। यस कदमले देशको प्राकृतिक सुन्दरता, जैविक विविधता र प्राचीन उपचारविधिलाई जोडेर दिगो आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ।

यस योजनाअन्तर्गत सङ्घीय राजधानी काठमाडौँलाई आध्यात्मिक र सांस्कृतिक सङ्गमका रूपमा विकास गरिनेछ। शहरभित्र सम्पदामा आधारित योग, बौद्ध ध्यान र परम्परागत स्पा सेवाहरूलाई एकै छानामुनि एकीकृत रूपमा उपलब्ध गराइनेछ। देशका अन्य भौगोलिक क्षेत्रहरूमा पनि उनीहरूको विशेषताका आधारमा विशिष्ट स्वास्थ्य केन्द्रहरू निर्माण गरिनेछ।

मौसमी चक्रमा आधारित पर्यटन निर्भरतालाई घटाउन नयाँ प्याकेजहरू तयार पारिएका छन्। यसअन्तर्गत ट्रेकिङलाई ध्यान र योगसँग जोडेर 'वेलनेस ट्रेकिङ सर्किट' सञ्चालन गरिनेछ। त्यसैगरी बौद्ध मठहरूमा आवासीय रूपमा रहने गरी 'मोनास्टरी मेडिटेसन रिट्रिट्स' को अवधारणा पनि अघि सारिएको छ।

आयुर्वेदिक सिद्धान्त र हिमाली जडीबुटीमा आधारित ७ देखि १४ दिनसम्मका पञ्चकर्म डिटक्स कार्यक्रमहरू सञ्चालन गरिनेछ। साथै सिङिङ बाउल, रेकी र स्थानीय झाँक्री परम्परामा आधारित 'ध्वनि तथा ऊर्जा उपचार' विधिलाई वैज्ञानिक ढाँचामा ढालेर अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरिने योजना छ।

ऋतु अनुसार शरदमा डिटक्स, जाडोमा प्रतिरक्षा वर्धक र वसन्तमा कायाकल्प कार्यक्रमहरू सञ्चालन गर्ने सरकारको तयारी छ। पूर्वाधार सुधार, सेवाको मानकीकरण र दक्ष जनशक्ति विकास गर्दै नेपाललाई वर्षैभरि पर्यटक आकर्षित गर्ने विश्वस्तरीय स्वास्थ्य पर्यटन केन्द्र बनाउने अपेक्षा राखिएको छ।