नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सङ्घर्ष कोशी प्रदेशलाई केन्द्र बनाएर थप तिक्ततापूर्ण बन्ने सङ्केत देखा परेको छ। विशेष महाधिवेशनबाट निर्वाचित पार्टी सभापति गगन थापाको कार्यशैलीको विरुद्धमा यसअघि फरक–फरक कित्तामा रहेका तत्कालीन सभापति शेरबहादुर देउवा समूह, नेता शेखर कोइराला समूह र कृष्ण सिटौला समूहले विराटनगरमा संयुक्त मोर्चाबन्दी गरेका छन्। शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत यी समूहहरूले वर्तमान केन्द्रीय नेतृत्वको एकलौटी ढङ्ग, सङ्गठन सञ्चालन प्रक्रिया र क्रियाशील सदस्यता परिमार्जनको नीतिप्रति कडा असन्तुष्टि सार्वजनिक गरेका हुन्।
विराटनगरस्थित मनास्लु होटलमा "वृहत् एकता, साझा प्रतिबद्धता" भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रादेशिक भेलाको पृष्ठभूमिमा नेताहरूले केन्द्रीय नेतृत्वमाथि गम्भीर आरोपहरू लगाएका छन्। कोशी प्रदेश कांग्रेसका महामन्त्री भूपेन्द्र राई र पूर्वमुख्यमन्त्री केदार कार्कीले पार्टीभित्र चरम गुटबन्दी बढेको र स्थापित विधि–विधानको ठाडो उल्लङ्घन भइरहेको दाबी गरे। महामन्त्री राईले तत्कालीन सभापति शेरबहादुर देउवामाथि भएको भौतिक आक्रमणमा पार्टीले विज्ञप्तिसमेत जारी नगरेको र जेनजी आन्दोलनको आरोपमा पूर्व गृहमन्त्री रमेश लेखक हिरासतमा पर्दा समेत शीर्ष नेतृत्व भेट्न नगएको भन्दै आपत्ति जनाए। नेतृत्वको यस्तो व्यवहारले कांग्रेसको परम्परागत मानवीय चरित्र र छवि गुम्दै गएको उनको भनाइ थियो।
विद्रोही पक्षले हालै सुरु गरिएको क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यलाई पार्टी कब्जा गर्ने रणनीतिक योजनाको रूपमा व्याख्या गरेको छ। विगतको निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेल्ने र राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्नेहरू नै अहिले सदस्यता अद्यावधिक गर्न हतारिएको आरोप पत्रकार सम्मेलनमा लगाइयो। पूर्वमुख्यमन्त्री कार्कीले सभापति गगन थापा संकुचित घेरामा रमाउन खोजेको टिप्पणी गर्दै उहाँ शतप्रतिशत कार्यकर्ताको नभई ५४ प्रतिशतको मात्र नेता बन्न खोजेको आरोप लगाए। कोशी प्रदेशलाई आफ्नो बलियो गढ मान्दै आएको शेखर कोइराला पक्ष र आफ्नो प्रभाव विस्तारमा लागेको थापा पक्षबिचको यो द्वन्द्वले आगामी दिनमा पार्टीको आन्तरिक समीकरणमा दीर्घकालीन असर पार्ने देखिन्छ।