नेपालको डिजिटल भुक्तानी प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्दै एन आई सी एशिया बैंकले देशमै पहिलो पटक एप्पल पे र गुगल पे मार्फत भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालनमा ल्याएको छ। बैंकको ई-कमर्स पेमेन्ट गेटवेमार्फत अब नेपाली व्यवसायीहरूले विश्वभरका ग्राहकहरूबाट सीधै डिजिटल भुक्तानी प्राप्त गर्न सक्नेछन्। असोज १६, २०८३ मा जारी प्रेस विज्ञप्तिअनुसार बैंकको साइबरसोर्स पेमेन्ट गेटवेमा आबद्ध वा आबद्ध हुन चाहने व्यवसायीहरूका लागि यो सुविधा उपलब्ध गराइएको हो।
यस प्रविधिका माध्यमबाट अन्तर्राष्ट्रिय ग्राहकहरूले आफ्नो भिसा तथा मास्टरकार्डको विवरण एप्पल र गुगल एन्ड्रोइड मोबाइलमा टोकनाइज गरी भौतिक कार्डबिनै सरल र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन्। विशेष गरी होटल, ट्राभल्स, हस्तकला, एयरलाइन्स, ई-कमर्स र सूचना प्रविधि (आईटी) जस्ता अन्तर्राष्ट्रिय ग्राहकहरूसँग जोडिएका क्षेत्रका लागि यो प्रविधि फलदायी हुने अपेक्षा गरिएको छ।
विदेशी पर्यटक तथा अन्तर्राष्ट्रिय सेवाग्राहीहरूका लागि परिचित र झञ्झटमुक्त भुक्तानी अनुभव प्रदान गर्ने यो व्यवस्थाले नेपाली व्यवसायीहरूलाई अन्तरदेशीय व्यापार विस्तार गर्न सहयोग पुर्याउनेछ। साथै, यसले देशमा विदेशी मुद्रा आर्जन बढाउनुका साथै समग्र पर्यटन प्रवर्द्धन र राष्ट्रिय अर्थतन्त्रको सबलीकरणमा समेत टेवा पुर्याउने विश्वास लिइएको छ।
अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई सर्वसुलभ र आधुनिक बनाउने यो प्रयासले नेपाली ई-कमर्स क्षेत्रलाई विश्व बजारसँग जोड्दै डिजिटल बैंकिङको विकासमा नयाँ आयाम थपेको छ।