नेपाली चलचित्र जगतका प्रतिष्ठित निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘पहाड’को ‘मोहनी लगाउने’ बोलको गीत काठमाडौँमा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। यो गीतमा भारती घिमिरे, साकर आप्टे, अस्मिता अधिकारी, मदनकृष्ण श्रेष्ठ र विपिन कार्कीको स्वर रहेको छ। पुराना र नयाँ पुस्ताका चर्चित कलाकारहरूको समिश्रण रहेको यस चलचित्रले नेपाली माटो र पहाडसँगको जनजीवनको गहिरो सम्बन्धलाई उजागर गर्ने प्रयास गरेको छ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, शिव श्रेष्ठ, विपिन कार्की र प्रियंका कार्की जस्ता दिग्गज कलाकारहरूको प्रभावशाली अभिनय देख्न पाइनेछ। यसै चलचित्रमार्फत अभिनेत्री पञ्चमी घिमिरेले नेपाली रजतपटमा आफ्नो डेब्यु यात्रा सुरु गर्नुभएको छ। रञ्जित सिंह गाजमेरको निर्देशनमा तयार भएको यस भिडियोले चलचित्रको कलात्मक पक्षलाई दर्शाएको छ। कार्यक्रममा बोल्दै निर्देशक घिमिरेले नयाँ पुस्ताको उत्साह र पुरानो पुस्ताको अनुभवबीचको समन्वय नै देश र समाज विकासको मुख्य आधार भएको धारणा राख्नुभयो।

ADVERTISEMENT Nepal Aaja Register

घिमिरेका अनुसार विदेश पलायन भएका नेपालीहरूले समेत आफ्नो मनमा सधैँ पहाड नै बोकेर हिँड्ने यथार्थलाई चलचित्रको कथावस्तुमा समावेश गरिएको छ। देश निर्माणको मुख्य जिम्मेवारी युवाहरूकै काँधमा रहेको सन्देश दिँदै उहाँले आफ्नो पुर्ख्यौली थलो र संस्कृतिप्रतिको मोहलाई चलचित्रले प्रष्ट पार्ने विश्वास व्यक्त गर्नुभयो। यो चलचित्र आगामी नेपाली नयाँ वर्षको अवसर पारेर देशभरका हलहरूमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको छ।

  1.