भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि रसुवाको उत्तरगया गाउँपालिकामा सञ्चालित आपतकालीन सहयोग अभियान एक महिना पूरा भएसँगै तत्कालीन राहतबाट दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणतर्फ मोडिएको छ। सामुदायिक संस्था सानो पाइलाले बोगटीटारमा स्थानीय सरकारको समन्वयमा हालसम्म ७ हजार ५ सयभन्दा बढी मानिसलाई पौष्टिक भोजन गराउनुका साथै ७८ जना जोखिममा परेका बालबालिकालाई सुरक्षित आवास (सेफ हाउस) मार्फत संरक्षण प्रदान गरिरहेको छ।

वीरगञ्जबाट राहत सामग्रीसहित भदौ १५ गते उत्तरगया पुगेको टोलीले नीलकण्ठ माध्यमिक विद्यालयको प्रांगणमा कम्युनिटी किचेन स्थापना गरी दैनिक दुई पटक भोजन उपलब्ध गराउँदै आएको छ। विद्युत् सेवा पूर्ण रूपमा ठप्प रहेको सो क्षेत्रमा आफ्नै जेनेरेटर प्रयोग गरी भान्सा, सेफ हाउस र स्थानीयवासीका विद्युतीय उपकरण चार्ज गर्ने सुविधा मिलाइएको छ। यसका साथै समुदायमा स्वच्छ खानेपानी, सरसफाइ र स्वास्थ्य सचेतनाका कार्यक्रम समेत सञ्चालन भइरहेका छन्।

विपदपछि कतिपय बालबालिकाका अभिभावक बेपत्ता भएका, मृत्यु पुष्टि भएका वा परिवारबाट छुट्टिएका कारण उनीहरू ओसारपसार वा शोषणको उच्च जोखिममा परेका थिए। बाल संरक्षणको क्षेत्रमा दुई दशक लामो अनुभव रहेको सानो पाइलाले सोही आवश्यकतालाई ध्यानमा राख्दै उपलब्ध गराइएको भवनमध्ये एकलाई सेफ हाउसमा परिणत गरी ७८ बालबालिकालाई मनोसामाजिक परामर्श र दिनको चार पटक पौष्टिक आहारसहित संरक्षण दिइरहेको छ।

उक्त प्रभावकारी कार्यको कदर गर्दै उत्तरगया गाउँपालिका, राष्ट्रिय बालअधिकार परिषद र स्थानीय बालअधिकारकर्मीको संयुक्त बैठकले सानो पाइलालाई उत्तरगया बाल संरक्षण क्लस्टरको सदस्य सचिव चयन गरेको छ। संस्थाले अब विस्थापित बालबालिकाको तथ्यांक संकलन गरी दीर्घकालीन पुनर्स्थापना योजना तर्जुमा गर्ने र स्थानीय सरकारसँगको सहकार्यमा पुनर्निर्माणका कार्यलाई तीव्रता दिने जनाएको छ।