दक्षिण-पश्चिम पाकिस्तानमा सुरक्षा चुनौती चर्किएका बेला बलोच विद्रोही समूहले सैन्य टोली र विकास आयोजनालाई लक्षित गरी गरिएको भीषण आक्रमणको भिडियो सार्वजनिक गरेको छ। बलोचिस्तान क्षेत्रमा फैलिएको अशान्तिका बीच सार्वजनिक दृश्यले क्षेत्रमा बढ्दो जोखिमलाई उजागर गरेको छ।

बलोच लिबरेसन आर्मी (बीएलए) को आधिकारिक माध्यम हुकलमार्फत प्रसारित सात मिनेट लामो भिडियोमा 'फतह स्क्वाड' का लडाकुहरू अत्याधुनिक हतियार र रकेट प्रहार गर्दै सैन्य दस्तामाथि हाबी भएको देखिन्छ। द बलोचिस्तान पोस्टका अनुसार सेप्टेम्बर ३ मा पशिन नजिकैको जियारत क्रसमा उक्त कारबाही चलाइएको थियो।

आक्रमणका क्रममा किला सैफुल्लाह स्काउट्स र एफसी १३४ विङका चार सैन्य वाहनलाई धरापमा पारिएको थियो। विद्रोहीहरूका अनुसार एउटा ट्रकसहित दुई सैन्य गाडी ध्वस्त पारिनुका साथै १८ जना पाकिस्तानी सैनिक मारिएका थिए। कारबाहीपछि सैनिकका सबै हतियारहरू कब्जामा लिइएको दृश्यमा देखाइएको छ।

विद्रोही समूहले सैन्य टोलीमाथिको प्रहारलगत्तै नजिकैको खानीबाबास्थित निर्माणाधीन आयोजनास्थललाई समेत निशाना बनाएको थियो। उक्त स्थल नियन्त्रणमा लिई १४ वटा भारी मेसिनरी र सवारी साधनहरू जलाएर नष्ट पारिएको जनाइएको छ।

पाकिस्तानी सेनाले यी दुवै घटनाको पुष्टि गरिसकेको छ। विद्रोही समूहले रणनीतिक रूपमा भिडियो सार्वजनिक गरेपछि क्षेत्रमा खटिएका सुरक्षा निकायका लागि भौतिक संरचना र यातायात मार्गको सुरक्षा थप चुनौतीपूर्ण बनेको छ।