पर्साको परवानीपुर खेल मैदानमा शनिबारदेखि सुरु भएको पाँचौँ परवानीपुर गोल्डकप फुटबल प्रतियोगितामा आयोजक शक्ति युवा क्लबले विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा भारतीय टोली यंग स्टार क्लब बिहारलाई ५-० को फराकिलो अन्तरले पाखा लगाउँदै आयोजकले आफ्नो वर्चस्व कायम गरेको हो।

खेलको सुरुवातदेखि नै आक्रामक बनेको शक्ति युवा क्लबका लागि कप्तान सन्दीप यादवले तेस्रो मिनेटमै पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो। दबाबमा परेको बिहारको टोलीले सातौँ मिनेटमा दोस्रो गोल खायो, जुन पुनः कप्तान सन्दीपले नै गर्नुभएको थियो। पहिलो हाफमा २-० को अग्रता बनाएको आयोजक टोलीले दोस्रो हाफमा थप तीन गोल थप्यो।

खेलको ५३ औँ मिनेटमा आशिष थिङले तेस्रो गोल गर्नुभयो भने ६२ औँ मिनेटमा कप्तान सन्दीपले आफ्नो व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो। लगत्तै ६४ औँ मिनेटमा सन्दीप क्षेत्रीले पाँचौँ गोल थप्दै टोलीको जित सुनिश्चित गर्नुभयो। ह्याट्रिककर्ता सन्दीप यादव 'म्यान अफ दी म्याच' घोषित हुँदै नगद २१ सय रुपैयाँबाट पुरस्कृत हुनुभयो।

परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले उद्घाटन गर्नुभएको यस प्रतियोगितामा नेपालका सात र भारतको एक गरी कुल आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। वैशाख १२ गतेसम्म चल्ने यस प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। करिब १७ लाखको लागतमा सञ्चालित यस प्रतियोगिताले स्थानीय खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।