नेपालको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रलाई प्रमुख आधार बनाउनुपर्ने आवश्यकता उद्योग क्षेत्रबाट पुनः उठाइएको छ।

होटल एशोसिएशन नेपालका अध्यक्ष विनायक शाहले पर्यटन क्षेत्रले ठूलो आर्थिक योगदान दिन सक्ने भएपनि यसको विकासका लागि स्पष्ट मार्गचित्र अभाव रहेको बताएका छन्। उनले आगामी पाँच वर्षका लागि सरकारबाट ठोस योजना आवश्यक रहेकोमा जोड दिएका छन्।

उनका अनुसार पाँच वर्षभित्र ५० लाख पर्यटक भित्र्याउने लक्ष्य निर्धारण गर्न सकिनेछ, तर त्यसका लागि नीति, ऐन र पूर्वाधार विकासमा समान रूपमा ध्यान दिनुपर्नेछ। साथै, सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य अपरिहार्य हुने उनको भनाइ छ।

न्युज एजेन्सी नेपालको अनुसार शाहले पर्यटक आकर्षणका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। निजी क्षेत्र अहिले पनि सक्रिय रहेको उल्लेख गर्दै उनले स्पष्ट सरकारी नीतिले थप ऊर्जा प्रदान गर्ने बताएका छन्।

निकट भविष्यमा बहुमत नजिकको सरकार गठन हुने सम्भावनाले पर्यटन क्षेत्र उत्साहित रहेको पनि उनले बताए। आगामी नीतिगत निर्णयले पर्यटन विकासको गति निर्धारण गर्ने अपेक्षा गरिएको छ।