प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। उक्त भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश हस्तान्तरण गर्दै विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई फलदायी र सफल बनाउन नयाँ दिल्लीले तीव्र तयारी गरिरहेको जानकारी दिनुभयो।
भेटवार्ताका क्रममा नेपाल र भारतबीचको सांस्कृतिक तथा भौतिक पूर्वाधार जोड्ने महत्वपूर्ण उपलब्धिबारे जानकारी गराइएको थियो। भारतको धार्मिक शहर अयोध्यादेखि नेपालको जनकपुरसम्म सीधा रेल सेवा सञ्चालनका लागि सम्पूर्ण प्राविधिक तथा भौतिक तयारी पूरा भएको र आजै उक्त रेलमार्गमा परीक्षण सञ्चालन (ट्रायल रन) समेत सफलतापूर्वक सम्पन्न भएको भारतीय विदेश सचिवले प्रधानमन्त्री शाहलाई अवगत गराउनुभयो।
प्राकृतिक विपद्का समयमा भारतले पुर्याएको तत्काल सहयोगप्रति प्रधानमन्त्री शाहले विशेष आभार प्रकट गर्नुभयो। हालै गएको विनाशकारी रसुवा-भोटेकोशी बाढीपछिको संकटमा भारत सरकारले 'फर्स्ट रेस्पोन्डर' का रूपमा तत्काल उद्धार टोली र राहत सामग्री परिचालन गरेकोमा उहाँले धन्यवाद ज्ञापन गर्नुभयो। साथै, विपद्को घडीमा भारतीय प्रधानमन्त्री मोदीले टेलिफोनमार्फत जनाउनुभएको ऐक्यबद्धता र सहानुभूतिप्रति पनि प्रधानमन्त्री शाहले कृतज्ञता व्यक्त गर्नुभयो।
भेटमा दुई देशबीचका ऊर्जा, जलस्रोत, व्यापार-पारवहन तथा नागरिक उड्डयनसम्बन्धी द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको विषयमा छलफल भएको थियो। यसैबीच, प्रधानमन्त्री शाहले नेपालको खेलकुद क्षेत्रको बृहत्तर विकास र संस्थागत सुदृढीकरणका लागि भारतसँग सहकार्य गर्ने सम्भावनाबारे विशेष चासो राख्नुभएको थियो।