प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री सुधन गुरूङमाथि उठेका आर्थिक पारदर्शिताका प्रश्नहरूमा गम्भीर चासो देखाउँदै लिखित स्पष्टीकरण माग गर्नुभएको छ। सम्पत्ति विवरणमा करोडौंको सेयर लगानी अपारदर्शी देखिएको र सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग व्यावसायिक सम्बन्ध जोडिएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले यो कदम चाल्नुभएको हो।
गृहमन्त्रीको सचिवालयका अनुसार उहाँले सोमबार साँझ नै प्रधानमन्त्रीलाई जवाफ बुझाइसक्नुभएको छ। गुरूङले आफूले बैंकबाट ऋण लिएर सेयरमा लगानी गरेको दाबी गरे पनि उहाँले यसअघि सार्वजनिक गरेको आधिकारिक सम्पत्ति विवरणमा भने उक्त ऋणको कुनै उल्लेख गर्नुभएको छैन। यसले उहाँको दाबी र कानुनी दस्तावेजबीच ठूलो अन्तर देखिएको छ।
विवरणहरूले देखाएअनुसार गुरूङको विभिन्न कम्पनीमा ४ करोड ३१ लाखभन्दा बढीको सेयर स्वामित्व छ। यसमध्ये ठूलो हिस्सा दोस्रो बजारमा सूचीकृत नभएका कम्पनीहरूको संस्थापक सेयरको छ। मन्त्री बन्नु ठीकअघि मात्र ठूलो परिमाणमा सेयर खरिद गरिएको देखिएकाले यसको वास्तविक स्रोतमाथि गम्भीर आशंका उब्जिएको छ।
विशेषगरी, सम्पत्ति विवरण बुझाउँदा लगानीको स्रोत ‘पुख्र्यौली सम्पत्ति र व्यवसाय’ उल्लेख गर्ने तर अहिले प्रश्न उठेपछि ‘ऋण लिएको’ भन्नुले उहाँको विश्वसनीयतामा प्रश्न उठाएको छ। साथै, ऋणको महल खाली छोडेर अहिले बैंकिङ रेकर्डको कुरा गर्नुले कानुनी रूपमा ढाँटेको पुष्टि हुने देखिन्छ।
विवादास्पद व्यवसायी दीपक भट्टसँगको साझेदारीको विषयमा भने गृहमन्त्रीको स्पष्टीकरण मौन रहेको छ। यस घटनाले सरकारको सुशासनको नारामाथि नै प्रश्न उठाएको छ भने प्रधानमन्त्रीले लिने आगामी निर्णयले मन्त्रिपरिषद्को भविष्य र राजनीतिक नैतिकताको कसी निर्धारण गर्नेछ।