पर्यटनको राजधानी पोखरामा नयाँ वर्ष २०८३ को सुखद अवसर पारेर 'निःशुल्क सटल बस सेवा' सञ्चालनमा ल्याइएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अम्मरसिंह चोकसम्म चल्ने यस विद्युतीय बस सेवाले विमानस्थलबाट शहर छिर्दा हुने महँगो ट्याक्सी भाडाको झन्झटलाई अन्त्य गर्ने लक्ष्य राखेको छ।
पोखरा महानगरपालिकाको अगुवाइमा महानगर यातायात प्रालि, कृषि विकास बैंक र कामना सेवा विकास बैंकको साझेदारीमा यो सेवा सुरु भएको हो। मंगलबार आयोजित एक समारोहका बीच पोखराका मेयर धनराज आचार्यले यस सेवाको औपचारिक समुद्घाटन गर्नुभयो। सुरुवाती चरणमा पाइलट प्रोजेक्टका रूपमा आगामी असार मसान्तसम्म यात्रुले यो सेवा पूर्णतः निःशुल्क प्रयोग गर्न पाउनेछन्।
दैनिक ५ हजार हाराहारीमा यात्रु आवतजावत गर्ने पोखरा विमानस्थलमा हाल दुईवटा ३२ सिटे विद्युतीय बस सञ्चालनमा ल्याइएको छ। बिहान ६ बजेदेखि राति १० बजेसम्म निरन्तर चल्ने यी बसहरूमा यात्रुको आराम र लगेज राख्ने सुविधालाई विशेष ध्यान दिइएको मेयर आचार्यले जानकारी दिनुभयो।
विमानस्थलबाट मुख्य चोकसम्म पुगेपछि यात्रुहरूलाई आफ्नो गन्तव्यमा पुग्न विभिन्न विकल्पहरू उपलब्ध हुनेछन्। ट्याक्सी भाडामा हुने मनोमानी रोक्न र वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्न यो कदम कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ। साउनदेखि भने यसलाई न्यूनतम शुल्क तोकेर नियमित बनाउने महानगरको योजना छ।