पर्यटनमा परेको असर

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरामा बन्द रहेका प्याराग्लाइडिङ स्कुल र सोलो प्याराग्लाइडिङ उडान तत्काल खुलाउन राज्यसँग माग गर्नुभएको छ। पोखराको प्याराग्लाइडिङ खेल विश्वकै उत्कृष्ट पाँच स्थानभित्र पर्ने उल्लेख गर्दै उहाँले सरकारी बन्देजका कारण विदेशी पर्यटकहरू भारततर्फ मोडिन बाध्य भएको बताउनुभयो।

 

पाइलट र स्कुलको समस्या

पहारीका अनुसार हाल सोलो उडानका लागि तोकिएको आकाशको क्षेत्र अत्यन्तै सानो छ, जसले गर्दा उडान 'पिन्जडा जस्तै' भएको छ। उहाँले विमानस्थल सञ्चालन र प्याराग्लाइडिङलाई एकसाथ मिलाएर लैजानुपर्नेमा जोड दिनुभयो। प्याराग्लाइडिङ स्कुल बन्द रहँदा हाल रहेका करिब २३० जना टेन्डम पाइलटहरूको सङ्ख्या समयक्रममा घट्दै जाने जोखिम रहेको उहाँको भनाइ छ।

उडान क्षेत्र विस्तारको माग

यसअघि सोलो प्याराग्लाइडिङका लागि विदेशी पर्यटकहरू दुई देखि तीन महिनासम्म पोखरामा बस्ने गरेका थिए। पहारीले सराङकोट पछाडिको भागलाई सोलो उडानका लागि बृहत् क्षेत्रको रूपमा खुला गर्न र रोकिएका अन्तर्राष्ट्रिय च्याम्पियनसिप तथा पर्यटकीय गतिविधि पुन: सञ्चालन गर्न राज्यसँग आग्रह गर्नुभएको छ।