२१ औँ फेवा नयाँ वर्ष महोत्सवको अवसरमा पोखराको लेकसाइडमा आयोजित पर्यटन दौडले साहसिक खेल र संस्कृतिको एउटा नयाँ संगम प्रस्तुत गरेको छ। नयाँ वर्ष २०८३ को स्वागतका लागि आयोजना गरिएको ३ किलोमिटर लामो यस दौडमा विश्वका २८ मुलुकका पर्यटकहरूले स्थानीय बासिन्दासँगै उत्साहपूर्वक भाग लिएका थिए।

खहरेदेखि अम्बोटसम्म भएको यस प्रतिस्पर्धामा अस्ट्रेलिया, क्यानडा र युरोपका पाहुनाहरूले नेपाली संस्कृतिसँग साक्षात्कार गर्ने मौका पाए। पर्यटन दौड संयोजक प्रतिक पहारीका अनुसार यस्ता कार्यक्रमले पोखराको होटल अकुपेन्सीलाई ९० देखि ९५ प्रतिशतसम्म पुर्याउन मद्दत गरेको छ, जसले सुस्ताएको व्यवसायमा नयाँ ऊर्जा थपेको छ।

पर्यटनको यो उत्साहका बीच केही चुनौतीहरू पनि सतहमा आएका छन्। नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश संयोजक मोडी लामिछानेका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण ट्रान्जिट प्रभावित हुँदा अमेरिका र युरोपबाट आउने पर्यटकको संख्यामा करिब २२ प्रतिशतले गिरावट आएको छ।

पश्चिमा पर्यटक घटे पनि छिमेकी मुलुक भारत र चीन लगायत दक्षिण–पूर्वी एशियाबाट आउने पाहुनाको संख्यामा १५ देखि २० प्रतिशतले वृद्धि भएको लामिछानेले जानकारी दिनुभयो। यसले गर्दा समग्र पर्यटन आगमनको सन्तुलन बिग्रन पाएको छैन। "जाउँ है पोखरा" जस्ता प्रवद्र्धनात्मक अभियानले आन्तरिक र क्षेत्रीय बजारलाई चलायमान बनाएको छ।

आगामी दिनमा पर्यटन बोर्डले जापान, कोरिया र अष्ट्रेलिया जस्ता देशहरूमा आफ्नो ध्यान केन्द्रित गर्ने योजना बनाएको छ। अन्तर्राष्ट्रिय भ्लगरहरूलाई निम्त्याउने र विश्वव्यापी सञ्चारमाध्यममार्फत नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्दै पर्यटन पुनरुत्थानलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।