राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई सुदृढ नबनाएसम्म देशको अर्थतन्त्रले गति लिन नसक्ने बताउनुभएको छ। राजधानीमा आयोजित राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै झाले सरकारी र विकास बजेटले स्थिरता मात्र दिने तर वास्तविक आर्थिक वृद्धिको मेरुदण्ड निजी क्षेत्र नै भएको उल्लेख गर्नुभयो।
सांसद झाले सन् २०२६ को विश्वव्यापी तथ्याङ्क प्रस्तुत गर्दै अमेरिका र चीन जस्ता शक्तिशाली अर्थतन्त्रहरू निजी क्षेत्रकै पुँजीका कारण सफल भएको तर्क गर्नुभयो। उहाँका अनुसार नेपालले पनि अब आफ्नो ध्यान आर्थिक वृद्धिका लागि निजी क्षेत्रको अस्तित्व, क्षमता र व्यावसायिक अभ्यासमा केन्द्रित गर्नुपर्ने बेला आएको छ।
सोही अवसरमा अर्थशास्त्री एवं सांसद सुशान्त वैदिकले नयाँ सरकारले ल्याएको सय दिने कार्ययोजनामा उद्यमशीलतालाई विशेष महत्त्व दिइएको जानकारी दिनुभयो। वैदिकका अनुसार गाउँका साना लघु उद्यमीदेखि सहरका स्टार्टअपहरूलाई आर्थिक रूपान्तरण र सामाजिक न्यायको आधार मानिएको छ।
सरकारले अब व्यवसायीहरूका लागि कागजी प्रक्रियामा हुने झन्झटलाई हटाउने प्रतिवद्धता जनाएको छ। स्थानीय तहदेखि कम्पनी दर्ता कार्यालयसम्मको प्रक्रियालाई सहज बनाइने उल्लेख गर्दै सांसद वैदिकले उद्यम गर्ने सपना अब सरकारी ढिलासुस्तीका कारण नरोकिने स्पष्ट पार्नुभयो। यी सुधारका परिणामहरू आगामी सातादेखि नै देखिन थाल्ने उहाँको दाबी छ।