राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार, दलीय भागबन्डा र संस्थागत अक्षमताका विरुद्ध युवा पुस्ताले गरेको शान्तिपूर्ण जागरण आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा विशेष वक्तव्य जारी गर्नुभएको छ। उहाँले नागरिकका मौलिक अधिकारको रक्षा र विधिको शासनका लागि युवा पुस्ताले सडकबाट उठाएको आवाजको मर्मलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ।
भदौ २३ र २४ गतेका दुःखद घटनालाई स्मरण गर्दै सभापति लामिछानेले नागरिक अधिकार र भ्रष्टाचारमुक्त समाजको माग गर्दा ज्यान गुमाएका अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। साथै, कर्तव्य पालनाका क्रममा ज्यान गुमाउने प्रहरीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवर्तनका नाममा पुनः कसैको ज्यान जान नहुने धारणा राख्नुभएको छ।
आन्दोलनका क्रममा घाइते, अङ्गभङ्ग तथा शारीरिक र मानसिक चोट भोगेका नागरिकको पूर्ण उपचार, उचित हेरचाह र दीर्घकालीन पुनर्स्थापनाको दायित्व राज्यले पूरा गर्नेछ भन्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ। उहाँले युवा पुस्ताको यो स्वस्फूर्त आन्दोलन परम्परागत राजनीतिक शैलीप्रतिको अस्वीकार भएको टिप्पणी गर्नुभएको छ।
कुनै पनि राजनीतिक दल वा नेताले यस आन्दोलनलाई आफ्नो सङ्कुचित राजनीतिक स्वार्थका लागि प्रयोग गर्न नहुने चेतावनी दिँदै लामिछानेले नागरिकको आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा बदल्न अपिल गर्नुभएको छ। उहाँले विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट आफूहरू कदापि विचलित नहुने प्रतिबद्धता जनाउनुभएको छ।