२०८२ सालको निर्वाचन सम्पन्न भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाइ बहुमत ल्याउने सुनिश्चित जस्तै देखिएको छ। परम्परागत राजनीतिक दलहरूप्रतिको चरम आम निराशालाई चिर्दै जनताले दिएको यो अभूतपूर्व अभिमतले नयाँ राजनीतिक धारलाई राज्यशक्तिको सर्वोच्च बिन्दुमा पुर्‍याएको छ। तर, चुनावको 'लहर' मा चढेर संसद् पुगेको यो शक्ति अहिले आन्तरिक व्यवस्थापन, राजनीतिक परिपक्वता र गुटबन्दीको गम्भीर चपेटामा फस्न सक्ने संकेतहरू देखिन थालेका छन्।

यस ऐतिहासिक सफलतासँगै पार्टीभित्र पुराना दलहरूलाई गाँज्ने व्यक्तिवादी चरित्र र विभाजनकारी मानसिकताको बीउ अङ्कुराउन थालेको छ। हाल यस वैकल्पिक शक्तिभित्र स्पष्ट रूपमा तीनवटा छुट्टाछुट्टै 'क्लब' र 'कोर टिम' हरू सक्रिय भएका छन्। यी समूहहरूले रणनीतिक तथा आर्थिक निर्णयहरूमा एकाधिकार जमाउने, आफ्ना गुटपतिलाई देउता बनाउने र प्रतिस्पर्धीलाई दानव करार गर्ने अभ्यासलाई बढावा दिने जोखिम छ। नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक तथा जेन-जी (Gen-Z) आन्दोलनपछि मन्त्री बनेका कुलमान घिसिङ पनि यो पार्टीमा जोडिएर बाहिरिइसकेका छन्; यदि उनी टिकेको भए उनको नेतृत्वमा अर्को गुट बन्ने परिस्थिति थियो।

रास्वपाभित्र देखिएका मुख्य तीन गुट र कोर टिम:

गुटको नाम

वैचारिक केन्द्र

कोर टिमका मुख्य सदस्यहरू

बालेन गुट

बालेन्द्र शाह

कुमार बेन, भूपदेव शाह, गणेश कार्की

रवि क्लब

रवि लामिछाने

दीपक बोहोरा, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, डिपी अर्याल

स्वर्णिम क्लब

स्वर्णिम वाग्ले

मनीष झा, शिशिर खनाल

धमिलो पानीको माछा र अपरिपक्व नेतृत्वको जोखिम

अहिलेको यो दुई तिहाइ नजिकको जनलहरलाई बाढी आएको बेला धमिलो खोलामा फ्याँकिएको माझीको जालसँग तुलना गर्न सकिन्छ। जाल निकै भारी भएर सबै हौसिए पनि यसभित्र खानयोग्य माछा मात्र परेका छैनन्; सर्प र अन्य विषालु जलचरहरू पनि सँगै तानिएका छन्। केही वर्षअघिसम्म काठमाडौंका रेस्टुरेन्टहरूमा मदिरा पिउँदै बिहे गर्ने वा नगर्ने भन्ने सामान्य निर्णय लिन नसकेका र आफ्नो भविष्यको कुनै स्पष्ट योजना नभएका अपरिपक्व युवाहरू समेत यसै लहरको बलमा सांसद बनेका छन्। हिजो आफ्नै जीवनको मार्गचित्र नभएकाहरू आज सार्वभौम संसद्‌मा जनताको अधिकार प्रयोग गर्ने शक्तिशाली स्थानमा पुग्नु पार्टी र सिङ्गो देश दुवैका लागि अत्यन्तै जोखिमपूर्ण छ।

अहङ्कारको टकराव र 'फायरवाल' को आवश्यकता

रवि, बालेन र स्वर्णिमबीच सम्भावित बढ्दो व्यक्तिगत टकराव र अहङ्कारलाई बेलैमा व्यवस्थापन नगर्ने हो भने आगामी निर्वाचनसम्ममा यो शक्ति टुक्राटुक्रा हुने अवस्था छ। नेताहरूले एकअर्काको अस्तित्व स्वीकार गर्न नसक्ने इगो (Ego) को लडाइँले पार्टीभित्र मारामारको स्थिति ल्याउन सक्छ। यो विपत्ति रोक्न अब सामान्य 'एन्टिभाइरस' (Antivirus) ले मात्र काम गर्दैन; संस्थालाई जोगाउन एउटा अभेद्य र सुरक्षित 'फायरवाल' (Firewall) निर्माण गर्नैपर्छ।

यसलाई व्यवस्थापन गर्न पार्टी सञ्चालनलाई नितान्त विधि, पद्धति र कठोर विधानमा बाँध्नुपर्छ। निर्णय प्रक्रियालाई पारदर्शी बनाउन संस्थागत संरचनाको स्पष्ट 'फ्लोचार्ट' (Flowchart) र 'अल्गोरिदम' (Algorithm) तयार गरी त्यसलाई कार्यसम्पादनमा 'कोडिङ' (Coding) गरिनुपर्दछ। लहरको भरमा जितेर आएका तर राजनीतिक सुझबुझ नभएका जनप्रतिनिधिहरूलाई निरन्तर छलफल र वैचारिक प्रशिक्षणको दायरामा ल्याएर संस्थागत सुदृढीकरण नगर्ने हो भने यो विशाल जनमतको जाल छिट्टै च्यातिएर जनताका सारा आशाहरू खोलामै बगेर जानेछन्।