काठमाडौँ — बीबीसीको 'मास्टरसेफ: द प्रोफेसनल्स' मार्फत नेपाली खानपानलाई विश्वस्तरमा चिनाएर चर्चा कमाएका सेलिब्रेटी सेफ सन्तोष साह बैंकिङ कसुर र ठगीको आरोपमा धनुषाबाट पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको गैरीधारास्थित रेस्टुरेन्ट खरिद गर्दा पैसा भुक्तानी नगरेको र चेक बाउन्स भएको आरोपमा पक्राउ गरेको हो। गैरीधाराकै त्यही ठाउँमा उनले आफ्नो बहुचर्चित रेस्टुरेन्ट 'मिथिला थाली' सुरु गरेका थिए।
यो ठगी र कानुनी झमेलाको विषय शकुन्तला अधिकारी (थापा) ले दिएको उजुरीसँग जोडिएको छ। सन्तोष साहको गौरवमय यात्रालाई नजिकबाट नियालेका धेरैका लागि यो खबर निकै स्तब्ध पार्ने खालको छ। तर, गैरीधारास्थित उनको रेस्टुरेन्टमा पुगेर खाना खाइसकेका धेरै ग्राहकहरूका लागि भने यो कानुनी संकट उनको भान्छा र व्यवस्थापनभित्र व्याप्त कमजोरी एवं चरम लापरवाहीको एउटा प्रतिविम्ब मात्र हो।
ब्रान्डिङको हाइप र सामाजिक सञ्जालको आक्रोश
सन्तोष साह पक्राउ परेको खबर बाहिरिएसँगै सामाजिक सञ्जालमा उनको कानुनी ठगीको मात्र चर्चा छैन, बरु उनले 'मिथिला थाली' को नाममा ग्राहकलाई दिँदै आएको खराब अनुभवप्रति पनि उत्तिकै आक्रोश पोखिएको छ। सामाजिक सञ्जालमा स्क्रोल गर्दा एक प्रयोगकर्ताले लेखेको यो भनाइले धेरै ग्राहकको साझा भोगाइलाई प्रतिनिधित्व गर्छ:
"सकुन्तला थापालाई ठगेर 'मिथिला थाली' सुरु गरेका सन्तोष साह पक्राउ परेको खबर सुनेपछि मलाई आफ्नै अनुभव याद आयो। यिनले सकुन्तलालाई मात्र नभई काठमाडौं बासीलाई नै मिथिला थालीको नाममा ठग्दै आएका छन्। मिथिला थालीमा मैले खाएको खाना धेरै पटक चिसो, गुणस्तरहीन र कहिलेकाहीँ बासीजस्तो लागेको थियो। त्यतिबेला पनि सोच्थें—यति धेरै प्रचार र ब्रान्डिङ पछाडि वास्तविकता यही हो त? मैथिली खानाको नाममा खुलेको रेस्टुरेन्टले ग्राहकलाई राम्रो अनुभव दिन नसकेपछि त्यसको असर केवल एउटा व्यवसायमा मात्र पर्दैन, सम्पूर्ण मैथिली भोजन संस्कृतिको छविमा पनि असर परेको छ।"
मेरो व्यक्तिगत अनुभव पनि यो भन्दा फरक छैन। जसरी काठमाडौंमा अचेल 'थकाली खाना' को ब्रान्ड बेचेर जे पायो त्यही खुवाउने र ठग्ने प्रवृत्ति बढेको छ, सन्तोष साहको गैरीधारास्थित रेस्टुरेन्टमा पनि 'मिथिला खाना' को नाममा ठ्याक्कै त्यस्तै व्यापारिक चटक देखियो।
गैरीधारा आउटलेटमा एक निराशाजनक साँझ
म पनि निकै उत्सुकताका साथ मिथिला खानाको स्वाद चाख्न एक साँझ गैरीधाराको सोही रेस्टुरेन्ट पुगेको थिएँ। तर, रेस्टुरेन्ट छिर्नासाथ त्यहाँको भद्रगोल व्यवस्थापन छताचुल्ल देखियो:
-
फोहोर टेबल र लज्जास्पद सर्भिस: रेस्टुरेन्ट पुग्दा बस्ने ठाउँ पाउनै मुस्किल थियो। खाली भएका टेबलहरू पनि सफा थिएनन्। जुठो र फोहोरले भरिएका ती टेबल सफा गराउन मात्रै निकै लामो समय कुर्नु पर्यो। त्यसपछि अर्डर गर्नका लागि पनि उत्तिकै समय लाग्यो। व्यवस्थापन र सर्भिस अत्यन्तै सुस्त देखियो।
-
पाँचै इन्द्रियलाई निराश पार्ने खाना: खानु भनेको केवल पेट भर्नु मात्र होइन, यो त पाँचै इन्द्रियको अनुभव हो। खानेकुरालाई पहिले आँखाले हेर्छ, नाकले त्यसको सुगन्ध महसुस गर्छ, हातको छालाले त्यसको तापक्रम (चिसो वा तातो) अनुभव गर्छ, जिब्रोले स्वाद लिन्छ र कानले त्यसको कुरकुरा (क्रिस्पी) ध्वनि सुन्छ। तर, सन्तोष साहको खानाले यी कुनै पनि इन्द्रियलाई सन्तुष्ट पार्न सकेन।
-
भोक र चिसो खानाको सास्ती: मलाई निकै भोक लागेको थियो। सामान्यतया भोक लागेको बेला सामान्य खाना पनि मीठो लाग्छ। तर, निकै ढिला गरी टेबलमा आइपुगेको खाना पुरै चिसो थियो। न त त्यसको रूप राम्रो थियो, न सुगन्ध, न त स्वाद नै।
अपेक्षा अनुसारको स्वाद नभएपछि र थप खाना माग्न पनि ठूलै संघर्ष गर्नु परेपछि त्यहाँको अनुभव गाउँघरको साधारण पूजामा बन्ने खानाभन्दा पनि फितलो महसुस भयो।
व्यापारिक लोभ भर्सेस मधेशको वास्तविक आतिथ्यता
'मिथिला थाली' को सबैभन्दा ठूलो विडम्बना के हो भने, यसले मधेशको वास्तविक र सुन्दर भोजन संस्कृतिलाई नै धमिलो बनाउने काम गरेको छ। मलाई मधेशको एउटा रैथाने घरमा भएको पूजाको अनुभव अझै याद छ, जहाँको आतिथ्यता अतुलनीय थियो। त्यहाँ खाना खानेबित्तिकै थपिदिने चलन रहेछ। मैले थप खाना खाएँ, फेरि थपियो। त्यहाँ सकेसम्म खाना नफ्याँक्ने बानी भए पनि मैले थोरै खाना फ्याँक्नै पर्यो। खास कुरा के रहेछ भने, खाना थोरै फ्याँकियो भने मात्रै पाहुना पूर्ण रूपमा अघाएको बुझिने त्यहाँको सुन्दर संस्कृति पो रहेछ!
तर, मास्टरसेफ सन्तोष साहको रेस्टुरेन्टमा भने मैले थपेको खाना पुरै फ्याँक्नु पर्यो। यसको कारण अघाएर वा त्यहाँको परम्परा सम्झेर होइन, बरु खाना यति चिसो र स्वादहीन थियो कि त्यसलाई निल्न नै सकिने अवस्था थिएन। एउटा सामान्य गाउँको पूजाको खानामा जुन न्यानोपन, स्वाद र आतिथ्यता हुन्छ, त्यो यो महँगो र ब्राण्डेड रेस्टुरेन्टमा पूर्ण रूपमा गायब थियो।
सेफ सन्तोष साहले नेपाली र मैथिली खानालाई विश्वस्तरमा पुर्याउने वाचासहित आफ्नो ब्रान्ड खडा गरेका थिए। तर, आर्थिक लेनदेनमा ठगी गरेको आरोपमा उनको पक्राउ हुनु र उनको रेस्टुरेन्टको टेबलमा ग्राहकले भोग्नुपरेको पाककलाको 'ठगी' एकापसमा कता कता मिल्दोजुल्दो देखिन्छ। जब व्यवसायमा गुणस्तर र सरसफाइभन्दा ब्रान्डिङ मात्र हाबी हुन्छ र मौलिक आतिथ्यतालाई व्यापारिक लोभले विस्थापित गर्छ, तब यस्तै पतन अवश्यम्भावी हुन्छ। काठमाडौँका सचेत ग्राहकका लागि मास्टरसेफ ब्रान्डको त्यो भ्रम अब टुटेको छ र बाँकी रहेको छ त केवल चिसो र अधुरो बाचाको एउटा थाली।