रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेललाई डा. निकोलस भुसालले समर्थन गरेपछि स्थानीय मतदाताहरूमा तीव्र असन्तुष्टि देखिएको छ। विवादित छवि भएका उम्मेदवारलाई समर्थन गरेको भन्दै कतिपय मतदाताहरूले डा. भुसालले आफ्नो प्रभाव र शब्दको दुरुपयोग गरेको टिप्पणी गर्न थालेका छन्। यस निर्णयले डा. भुसालको राजनीतिक भविष्य नै संकटमा पर्न सक्ने भन्दै स्थानीय स्तरमा उनको आलोचना बढेको छ।

डा. भुसालको यो कदमको प्रतिक्रियास्वरूप मतदाताहरूको एउटा हिस्साले आफ्नो समर्थन परिवर्तन गर्ने संकेत दिएका छन्। स्थानीय मतदाताहरूले अब भोट चुन्नुलाई दिने र चुन्नुलाई जिताउन सक्रिय हुने जस्ता अभिव्यक्तिहरू सार्वजनिक गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार चुन्न पौडेल स्थानीय व्यवसायी हुन् जसलाई स्थानीयहरूले ‘चुन्नु’ नामले सम्बोधन गर्ने गर्दछन्। मतदाताहरूका अनुसार अबको विकल्पको रूपमा रुख चिह्नमा मतदान गरी पौडेललाई विजयी गराउने तयारी भइरहेको छ।

यस पटक नेकपा एमालेका उम्मेदवार तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलका लागि चुनावी माहोल विगतको तुलनामा असहज देखिएको छ। पौडेलमाथि ललिता निवास जग्गा प्रकरणमा प्रत्यक्ष संलग्नता रहेको, लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सार्ने निर्णय हुँदा मौन बसेको र गिरीबन्धु टी–स्टेट जग्गा सट्टापट्टा प्रकरणमा नीतिगत भ्रष्टाचारको पक्षपोषण गरेको जस्ता गम्भीर आरोपहरू लाग्दै आएका छन्। यी पुराना विवादहरूका कारण उनको लोकप्रियतामा ह्रास आएको र चुनावी प्रतिस्पर्धा कठिन बनेको विश्लेषण गरिएको छ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेल स्वयम् पनि शृङ्खलाबद्ध विवादको केन्द्रमा रहेका छन्। खरेलमाथि सुप्रिम सहकारीका हजारौं पीडितहरूको ७८ करोडभन्दा बढी रकम अपचलन भएको मुद्दामा असंवेदनशील टिप्पणी गरेको र टिकट वितरणका क्रममा रातारात ‘टिकट हाइज्याक’ गरेको आरोप छ। साथै, सर्वोच्च अदालत र न्यायाधीशहरूका विरुद्ध सामाजिक सञ्जालमा अपमानजनक शब्द प्रयोग गरेको र संवैधानिक इजलासमा बहसकै क्रममा दबाब सहन नसकी बेहोस भएको घटनाले उनको पेसागत परिपक्वतामाथि प्रश्न उठाएको छ। पछिल्लो समय उनले आफ्नो घोषणापत्रमा सामाजिक समूह एमआरआर बुटवलको नाम राजनीतिक लाभका लागि दुरुपयोग गरेको विषयले पनि नयाँ विवाद निम्त्याएको छ।

प्रमुख उम्मेदवारहरूसँग जोडिएका यी गम्भीर आरोपहरू र पछिल्लो समय देखिएको राजनीतिक ध्रुवीकरणले रूपन्देही–२ को चुनावी नतिजालाई निकै रोचक र अनपेक्षित बनाउने देखिएको छ।