सप्तकोशी नदीको बीच भागमा रहेको एउटा एकान्त टापुबाट ठूलो परिमाणमा अवैध गाँजा बरामद भएको छ। सशस्त्र प्रहरी बलको टोलीले जेठ ११ गते गरेको विशेष अपरेसनका क्रममा करिब ४ सय ७५ किलोग्राम गाँजा नियन्त्रणमा लिएको हो।
उक्त प्रतिबन्धित सामग्री सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ को सिमानामा पर्ने नदीको टापुमा लुकाएर राखिएको अवस्थामा फेला परेको थियो। तस्करहरूले १६ वटा बोरामा प्याक गरेर सो गाँजा त्यहाँ भण्डारण गरेका थिए।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेस चतराका सशस्त्र प्रहरी निरीक्षक मेघराज राउत र सुरक्षा बेस रामपुरका सशस्त्र प्रहरी निरीक्षक राज विक्रम खड्काको नेतृत्वमा संयुक्त टोली परिचालन गरिएको थियो।
भौगोलिक जटिलता र नदीको बीचमा टापु भएका कारण सुरक्षाकर्मीहरूले उक्त गाँजा ओसार्न र्याफ्ट बोटको सहारा लिएका थिए। बोटमार्फत सबै बोराहरूलाई सुरक्षित रूपमा नदी किनारमा ल्याइएको थियो।
सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता बिष्णु प्रसाद भट्टका अनुसार बरामद गरिएको उक्त अवैध गाँजालाई आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइसकिएको छ।