नेपाली साहित्य तथा भाषाविज्ञानका वरिष्ठ साधक डा. राजेन्द्र बिमलको ७९ वर्षको उमेरमा निधन भएको छ। सोमबार राति साढे ११ बजेतिर परिवारजनसँग कुराकानी गरिरहेका बेला उहाँ अचानक बिरामी पर्नुभएको थियो। उपचारका लागि जनकपुरस्थित नजिकैको अस्पताल पुर्याइएका बिमलको सोही क्रममा राति पौने १ बजे निधन भएको हो।
कान्छा छोरा डा. विभाष लाभका अनुसार अचानक स्वास्थ्यमा समस्या देखिएलगत्तै उहाँलाई अस्पताल पुर्याइएको थियो। बिमलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि जनकपुरधाम उपमहानगरपालिका १० स्थित देवीचोकमा रहेको आफ्नै निवासमा राखिएको छ।
बहुभाषिक योगदान र प्राज्ञिक यात्रा
डा. बिमलले नेपाली, मैथिली र अंग्रेजी भाषामा साहित्यका विविध विधामा निरन्तर कलम चलाउनुभएको थियो। भाषा विज्ञानमा विद्यावारिधि गर्नुभएका उहाँले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर गर्नुभएको थियो। उहाँ वि.सं. २०२९ देखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापन गराउँदै आउनुभएको थियो।
साहित्यिक तथा भाषिक सेवाबापत उहाँ प्रतिष्ठित जगदम्बा श्री पुरस्कार र मधुपर्क सम्मानसहित थुप्रै पुरस्कारबाट विभूषित हुनुहुन्छ।
आजै स्वर्गद्वारीमा अन्त्येष्टि गरिने
डा. विजय दत्तका अनुसार बिमलको पार्थिव शरीरको आजै दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ। उहाँको निधनले साहित्य, शिक्षा र प्राज्ञिक जगत्मा ठूलो क्षति पुगेको छ।