ADVERTISEMENT Xtreme Energy Drink - Home
Nepal Aaja
26 Aug, 2026, Wednesday
साहित्य

एक निमेषमा

रसुवामा बाढीले निम्त्याएको विनाश र मानवीय जीवनको क्षणभङ्गुरतामाथि रचिएको एक कारुणिक काव्यिक प्रस्तुति।

Staff Reporter Staff Reporter
| 2026 August 26, 06:36 PM
ADVERTISEMENT Xtreme - Inside
एक निमेषमा
सारांश AI
• रसुवामा आएको विनाशकारी बाढीले क्षणभरमै सबै नष्ट गर्‍यो।
• वर्षौँको मिहिनेत र सपना पानीसँगै बगेर हराए।
• कवियत्री चन्दा पराजुलीले जीवनको अनित्यतामाथि प्रकाश पार्नुभएको छ।

चन्दा पराजुली


एक निमेषअघि
कसैको घरमा हाँसो थियो,
कसैको आँखामा भोलिको सपना,
वर्षौँको पसिना,
जीवनभरको कमाइ,
र आफ्नै हातले बनाएको संसार थियो।

तर प्रकृतिले
एकैछिनमा सबै हिसाब मेटाइदियो
बाढी आयो,
र समयले रोक्न नपाउँदै
कति जीवनहरू
समयभन्दा पहिले नै रोकिए।

जसले वर्षौँ लगाएर
एउटा घर उभ्यायो,
त्यो घर एकैछिनमा बग्यो।
जसले जीवनभर
सम्पत्ति, सम्झना र भविष्य जोड्यो,
उसका सबै उपलब्धि
एक निमेषमै पानीसँगै बगे।

मानिसले विज्ञान जितेको दाबी गर्‍यो,
पहाड नाप्यो, नदी बाँध्यो,
आकाश छिचोल्ने सपना देख्यो
तर एउटा उर्लिएको भेलअघि
आफ्नै जीवन बचाउन पनि
कहिलेकाहीँ असहाय रहेछ।

आज रसुवा रोइरहेको छ,
उसको सुन्दरता
माटो र आँसुले ढाकिएको छ।
पहाडहरू उभिएका छन्,
तर काखमा खेल्ने
कति आवाजहरू हराएका छन्।

ADVERTISEMENT Nepal Aaja Register

हिजोसम्म सुन्दर लाग्ने बाटो
आज सम्झनाको घाउ बनेको छ,
नदी बगिरहेकै छ
तर त्यसको पानीमा
कसैको सपना,
कसैको परिवार,
कसैको पूरा जीवन बगिरहेको छ।

सायद प्रकृतिले फेरि सम्झाइरहेछ
केही पनि स्थायी छैन।
न घर, न धन,
न पद, न प्रतिष्ठा,
न यो शरीर, न यो संसार।

हामी सबै
क्षणका पाहुना मात्र हौँ
आज सास छ,
भोलि सम्झना हुन सक्छौँ।

त्यसैले
जीवनलाई जितेको भ्रम नगरौँ,
किनकि मृत्युले
कहिल्यै पूर्वसूचना दिँदैन।

एक निमेष पर्याप्त हुन्छ
पूरै जीवनलाई
एउटा सम्झनामा बदल्न।

प्रतिक्रिया

0 टिप्पणीs

कृपया लगइन गर्नुहोस् तपाईंको प्रतिक्रिया दिन।

पार्टनर स्टोरी

Related News

ट्रेन्डिङ न्युज

हालै प्रकाशित समाचार