काठमाडौं । मतदानको दिन देशकै ध्यान तान्नेगरी एउटा ठूलो नाटकीय घटना घटेको छ! काठमाडौंमा भोट हालेर 'हिरो' झैँ हेलिकप्टरमा उडेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लाई बीच आकाशबाटै रित्तो हात काठमाडौं फर्काइएको छ।
एमाले क्याम्पमा खैलाबैला, मुख्यमन्त्रीको दौडधुप!
काठमाडौं-२ मा मतदान गरेर बालेन जब माउन्टेन एयरको हेलिकप्टर चढेर आफ्नो उम्मेदवारी रहेको झापा क्षेत्र नम्बर ५ तिर उडे, तब विपक्षी क्याम्पमा भूकम्प गयो। बालेन हेलिकप्टरबाटै ओर्लिएर झापाका मतदान केन्द्र घुम्ने योजनामा थिए। तर, यो सुइँको पाउनासाथ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको होस उड्यो! उनले तत्काल प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री र निर्वाचन आयोगसम्म फोन घुमाएर कडा आपत्ति जनाए। बालेनको यो 'इन्ट्री' ले सोझै मतदाता प्रभावित पार्ने एमालेको ठहर थियो।
आयोगको ठाडो एक्सन: झापा टेक्नै पाएन हेलिकप्टरले!
मुख्यमन्त्री कार्कीको कडा प्रेसर र अन्य उम्मेदवारहरूको उजुरीपछि निर्वाचन आयोग तत्काल एक्सनमा उत्रियो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको आदेशपछि, झापाको धर्तीमा टेक्नै नपाई बालेन सवार हेलिकप्टर बीच बाटोबाटै सुटुक्क त्रिभुवन विमानस्थल फर्किन बाध्य भयो। विमानस्थलका प्रवक्ताले हेलिकप्टर काठमाडौं फिर्ता भएको पुष्टि गरिसकेका छन्।
केपी ओलीसँगको महाभिडन्तमा बालेनको यो कस्तो रणनीति?
याद रहोस्, झापा-५ त्यही ‘हेभीवेट’ क्षेत्र हो जहाँ एमालेका शक्तिशाली अध्यक्ष केपी शर्मा ओली, नेकपाका रञ्जित तामाङ र कांग्रेसकी मन्धरा चिमोरियासँग बालेनको कडा भिडन्त हुँदैछ। चुनावको दिन बालेनको यो ‘हेलिकप्टर स्टन्ट’ ले झापाको मात्र होइन, पूरै देशको माहौल तताइदिएको छ।
आकाशको यात्रामा ब्रेक लागे पनि, के बालेनले झापा-५ को भुइँको नतिजा आफ्नो पक्षमा पार्न सक्लान् त? यो भने हेर्न बाँकी नै छ!