सैनिक सुरक्षा घेराभित्र रहने राष्ट्रपति कार्यालयमा भएको पुरानो तोडफोड र लुटपाटको घटनामा संलग्न रहेको आरोपमा सुरक्षाकर्मीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौंका विभिन्न क्षेत्रमा लुकाएर राखिएको वन्यजन्तुको अवशेष र प्रतिबन्धित औषधिसहित उनीहरूलाई सुरक्षा निकायले सञ्चारमाध्यमसामु प्रस्तुत गरेको हो। पक्राउ परेका समूहले उक्त बहुमूल्य ऐतिहासिक सामग्रीलाई ओसारपसार र खरिदबिक्री गर्ने योजना बनाएको खुलेको छ।

प्रहरीको विशेष अनुसन्धान टोलीले दिएको जानकारी अनुसार गत भदौ २३ र २४ गते भएको राजनीतिक प्रदर्शनका क्रममा शीतल निवासभित्र हुलदंगा भएको थियो। सोही अराजकताको फाइदा उठाउँदै प्रदर्शनकारीले भवनका ऐतिहासिक तस्बिर र फर्निचर नष्ट गर्नुका साथै बैठक कक्षको भित्तामा सजावटका लागि राखिएका दुई थान हात्तीका दाह्रा समेत गायब पारेका थिए। करिब नौ महिनासम्म रहस्यकै गर्भमा रहेको यो घटना अवैध वस्तुको बजार खोज्ने क्रममा बाहिर आएको हो।

विशेष सूचनाका आधारमा खटिएको काठमाडौंका अपराध अनुसन्धान अधिकारीहरूले सुरुमा तार्केश्वर क्षेत्रबाट यसको सुराक फेला पारेका थिए। मुख्य आरोपीको घरपछाडि खाली जमिनमा खनेर लुकाइएको अवस्थामा काटिएका दाह्राका भागहरू फेला परेका थिए। सोही स्थानबाट चिकित्सकको सिफारिस बिना बिक्री गर्न नमिल्ने १५० चक्की ट्रमाडोल नामक लागुऔषध समेत बरामद भएपछि यसमा आपराधिक गिरोहको संलग्ना पुष्टि भएको हो।

प्रहरी प्रवक्ताका अनुसार नियन्त्रणमा लिइएका अन्य सहयोगीहरूको बयानका आधारमा काठमाडौंका विभिन्न कोठामा छापा मारी बोराभित्र लुकाइएका बाँकी टुक्राहरू समेत संकलन गरिएको छ। पक्राउ पर्नेमा देशका विभिन्न जिल्लाबाट आई काठमाडौं बस्दै आएका २० देखि २७ वर्ष उमेर समूहका युवाहरू रहेका छन्। उनीहरूले बहुमूल्य वस्तुलाई एकापसमा भागबन्डा गरी लुकाएको अनुसन्धानबाट देखिएको छ।

पक्राउ परेका पाँचै जनामाथि राज्यको कडा कानुनी प्रावधान अनुसार मुद्दा चलाउने तयारी गरिएको छ। वन्यजन्तुको अवैध चोरीशिकाारी तथा ओसारपसार र लागुऔषध नियन्त्रण सम्बन्धी दुईवटा छुट्टाछुट्टै ऐन आकर्षित हुने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। कारबाहीको अन्तिम किनारा लगाउनका लागि थप प्रमाणसहित आरोपीहरूलाई वन कार्यालय र सम्बन्धित जिल्ला प्रहरी परिसरमा बुझाइएको छ।