काठमाडौँ जिल्ला अदालतको आदेशमा व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

मङ्गलबार न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासमा भएको थुनछेक बहसपछि अदालतले धरौटीमा छाड्न आदेश दिएको हो। बीमा कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्र कसुरमा २५ लाख रुपैयाँ धरौटी तोकिएको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिएका छन्।

गोल्छाले तोकिएको धरौटी बापत बैंक ग्यारेन्टी प्रस्तुत गरेर रिहाइ पाएका हुन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा गत जेठ २८ गते जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको थियो। यसअघि सोही मुद्दाको प्रक्रियामा दीपक भट्ट र सुलभ अग्रवालसँग पनि धरौटी माग गरिएको थियो।

अदालतमा मुद्दा दायर भएसँगै यस प्रकरणको आगामी कानुनी प्रक्रिया र निरुपण अगाडि बढ्नेछ।