सुनसरीको बर्जु गाउँपालिका-६ स्थित बर्जुताल क्षेत्रमा गैंडाको खाग जस्तो देखिने वस्तुको अवैध कारोबार गरिरहेको अवस्थामा चार जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालयको टोलीले उनीहरूलाई वैशाख ३ गते बेलुका नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा बर्जु-६ का ३९ वर्षीय राजेशकुमार उराउ र ३१ वर्षीय जीवन चौधरी, बर्जु-५ का ३३ वर्षीय रविनकुमार यादव तथा मोरङका ४७ वर्षीय नारायणप्रसाद घिमिरे रहेका छन्। उनीहरू खागको मोलमोलाई गरिरहेकै अवस्थामा फेला परेका थिए।

प्रहरीले उनीहरूको साथबाट खाग जस्तो देखिने वस्तुसँगै दुईवटा मोटरसाइकल (प्र १-०३-००१ प ०२२८ र को ३६ प ६२१८), चारवटा मोबाइल सेट र करिब छ हजार रुपैयाँ नगद समेत बरामद गरेको छ। सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता विष्णु प्रसाद भट्टका अनुसार उनीहरूलाई थप कारबाहीका लागि जिल्ला वन कार्यालय इनरुवामा बुझाइएको छ।

बरामद गरिएको वस्तुको आधिकारिकता परीक्षण र वन्यजन्तु अपराध अन्तर्गतको थप अनुसन्धान अब वन कार्यालयले अघि बढाउनेछ।