अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३' सार्वजनिक गर्दै मुलुकको अर्थतन्त्र जटिल मोडमा रहेको चित्रण गर्नुभएको छ। अर्थ मन्त्रालयद्वारा सार्वजनिक यो प्रतिवेदनले विगत एक दशकको औसत आर्थिक वृद्धिदर ४.२ प्रतिशतमा सीमित हुनुलाई चिन्ताको विषय मानेको छ।

प्रतिवेदनले नेपाली अर्थतन्त्र कृषिबाट औद्योगिकीकरणको चरणमा प्रवेश नगरी सिधै सेवा क्षेत्रमा केन्द्रित भएको निष्कर्ष निकालेको छ। हाल सेवा क्षेत्रको योगदान ६२ प्रतिशत पुग्दा उद्योग क्षेत्रको हिस्सा घटेर १२.८ प्रतिशतमा खुम्चिएको छ। ६२ प्रतिशत जनसङ्ख्या आश्रित कृषि क्षेत्रको न्यून उत्पादकत्वले समग्र आर्थिक विकासलाई अवरोध पुर्‍याएको अर्थमन्त्रीको विश्लेषण छ।

ऊर्जा क्षेत्रमा ४ हजार १०५ मेगावाट विद्युत उत्पादन पुगे पनि प्रसारण लाइनको कमजोरीले गर्दा हिउँदमा अझै आयात गर्नुपर्ने बाध्यता रहेको स्थितिपत्रमा उल्लेख छ। यस्तै, आन्तरिक रोजगारीको अभावमा गत वर्ष मात्रै ८ लाख भन्दा बढी नेपालीले श्रम स्वीकृति लिएको तथ्याङ्कले मानव पुँजी क्षयको जोखिम बढेको देखाएको छ।

मुलुकको अर्थतन्त्रलाई दिगो बनाउन अब परम्परागत शैलीभन्दा भिन्न संरचनात्मक सुधार, निजी क्षेत्रको सशक्तीकरण र प्रविधिको उच्च प्रयोग अपरिहार्य रहेको प्रतिवेदनको निष्कर्ष छ।