काठमाडौँ, मिति २०८३ भाद्र १३ गते। माडी चितवन–काठमाडौँ सम्पर्क समाजले देशमा उत्पन्न विपद्को दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै पूर्वनिर्धारित तीज कार्यक्रम रद्द गरी विपद् प्रभावित तथा घाइते–बिरामीका लागि राहत सहयोग तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
शनिबार संस्थाको कार्यालय Namaste A To Z Complex, शान्तिनगर गेट, नयाँ बानेश्वर, काठमाडौँमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष शंकर पाण्डे मुक्तिले स्वयंले रक्तदान गरी कार्यक्रमको उद्घाटन गर्नुभयो। कार्यक्रममा करिब ११० जनाको सहभागिता थियो। स्वेच्छिक रूपमा राहत सहयोगका लागि कार्यक्रममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको QR Code समेत राखिएको थियो र सहभागीले उक्त QR मार्फत सहयोग रकम सिधै सरकारी खातामा जम्मा गर्नु भएको थियो। उक्त सहभागिताबाट नै ३० पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।
कार्यक्रमबारे जानकारी दिँदै अध्यक्ष पाण्डेले देशमा विपद् परेको यस्तो दुःखद् घडीमा उत्सवका रूपमा मनाइने तीज कार्यक्रम रद्द गरी ‘विपतमा एकता, भोटेकोशी बाढी पीडितको सेवा हाम्रो प्रतिबद्धता’ भन्ने भावनाका साथ मानवीय सेवामा समर्पित हुन राहत तथा रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
कार्यक्रम माडी चितवन–काठमाडौँ सम्पर्क समाजको आयोजना तथा वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन नेपालको सह–आयोजनामा सम्पन्न भएको हो। नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्तसञ्चार सेवाले कार्यक्रमलाई प्राविधिक सहयोग गरेको थियो। संस्थाका सल्लाहकार समिति र कार्यसमितिको सक्रियताले छोटो समयमा आयोजना गरेर पनि कार्यक्रम भव्यताका साथ सम्पन्न भएको समाजले जनाएको छ।
कार्यक्रममा रक्तदान गर्नुहुने सम्पूर्ण रक्तदाता, सहयोगी व्यक्ति तथा संघ–संस्था, स्वयंसेवक, प्राविधिक टोली, सञ्चारकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा कार्यक्रम सफल बनाउन भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण महानुभावप्रति माडी चितवन–काठमाडौँ सम्पर्क समाजले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले विपद्को समयमा सामाजिक एकता, सहयोग र मानवीय सेवाको भावनालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।