सशस्त्र प्रहरीले काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट साउन १२ गते ठूलो परिमाणको अवैध लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएकाहरूमा भारत घर बताउने २६ वर्षीय राकेशकुमार शाह, बारा जिल्लाको कलैया–५ घर भएका २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गाको मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मीथान–६ बस्ने २४ वर्षीय दिपक राई रहेका छन्।
उनीहरूले भारतबाट अवैध रूपमा लागूऔषध ल्याई बिक्रीवितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा एपीएफ इन्टेलिजेन्स ब्यूरोको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
कारबाहीका क्रममा प्रहरी टोलीले उनीहरूको साथबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल नामक लागूऔषध बरामद गरेको छ। यसका साथै बिएसी ७०१७ नम्बरको एउटा हात्ती गाडी, बागमती प्रदेश ०१–०२०६५ प ४४८९ नम्बरको मोटरसाइकल, तीन थान मोबाइल र केही नेपाली रुपैयाँसमेत जफत गरिएको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरू र बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धानका लागि प्रक्रिया अगाडि बढाइएको छ।