उत्तर प्रदेशको महाराजगञ्ज जिल्लास्थित भारत-नेपाल सीमा क्षेत्रबाट एक जना कथित अमेरिकी नागरिकलाई सशस्त्र सीमा बल (एसएसबी) ले नियन्त्रणमा लिएको छ। वैध भ्रमण कागजात बिना नै नेपाल प्रवेश गर्न खोजिरहेका ती व्यक्तिलाई सोनाउली प्रहरी स्टेशन अन्तर्गत पर्ने मैनहवा क्षेत्रको ५१६ नम्बर सीमा पिलर नजिकैबाट नियन्त्रणमा लिइएको हो। नियमित गस्तीमा रहेको एसएसबीको २२ औं बटालियनले रोकिन सङ्केत गर्दा भाग्न खोजेपछि उनलाई सुरक्षाकर्मीले घेराउ गरेर समातेका थिए।
महाराजगञ्जका अतिरिक्त प्रहरी उपरीक्षक सिद्धार्थका अनुसार पक्राउ परेका व्यक्तिले आफ्नो नाम जोर्डन ब्राउन बताएका छन् र उनी अमेरिकाको क्यालिफोर्नियाका बासिन्दा हुन्। नियन्त्रणमा लिइँदा उनको साथमा कुनै पनि वैध परिचयपत्र वा भ्रमण सम्बन्धी कागजात फेला परेको थिएन। सोधपुछका क्रममा उनले आफू अमेरिकी नौसेनाको पूर्व अधिकारी भएको दाबी गरेका छन्। उनले सुरुमा पर्यटकीय भिसामा थाइल्याण्ड गएको र त्यहाँ आफ्नो राहदानी हराएको बयान दिएका छन्। त्यसपछि उनी जलमार्ग हुँदै श्रीलङ्का पुगेका थिए र सोही मार्गबाट २०८२ कात्तिक १७ (२ नोभेम्बर २०२५) मा भारत प्रवेश गरेका थिए।
यो विवरण अनुसार ती व्यक्ति विगत सात महिनादेखि राहदानी बिना नै अवैध रूपमा भारतमा बसिरहेका थिए। यस अवधिमा उनी मुख्यत: गोवामा बसेका थिए र पछि गोवासिद्धै बेङ्गलुरु हुँदै नेपाल छिर्ने उद्देश्यले सोनाउली सीमा क्षेत्रमा आइपुगेका थिए।
एसएसबीका सहायक कमान्डर प्रिया यादवका अनुसार जाँचका क्रममा ब्राउनको साथबाट दुई वटा मोबाइल फोन र ३१ हजार ४६० भारतीय रुपैयाँ बरामद गरिएको छ। एसएसबी र अन्य सुरक्षा निकायहरूको संयुक्त सोधपुछपछि थप कानुनी कारबाहीका लागि उनलाई सोनाउलीस्थित उत्तर प्रदेश प्रहरीको जिम्मा लगाइएको छ। प्रहरीले उनीविरुद्ध अध्यागमन तथा विदेशी नागरिक ऐनको दफा २१/२३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ भने उनको दाबीको आधिकारिकता पुष्टि गर्ने कार्य भइरहेको छ।