मेरो प्लस टु पढ्दाको कलेजको साथीको दाइको विवाहको एउटा प्रसङ्गबाट कुराकानी सुरु गरौँ। काठमाडौँमा उनीहरूका धेरै आफन्त नभएका र विवाह अलि ठूलै देखाउनुपर्ने पारिवारिक चाहना भएकाले हामीलाई जन्ती जानैपर्ने एउटा बाध्यता आइपरेको थियो। चार-पाँच जना मात्र जाँदा जन्ती खुकुलो देखिने भएकाले साथीले अन्य दुई देखि पाँच जना साथीहरूलाई पनि ल्याइदिन आग्रह गर्‍यो, ताकि जन्तीको सङ्ख्या अलि धेरै देखियोस्। मैले साथीहरू खोजेर केहीलाई बोलाएँ र यसरी हामी करिब ५० देखि ६० जना जम्मा भएर जन्ती गयौँ।

दुलहीको घरमा पुगेपछि केही बेर बस्यौँ, तर त्यहाँ खाना खुवाउन केही ढिलाइ भयो। प्राविधिक कारणले गर्दा बेहुलाले बेहुलीलाई सिन्दूर हाल्ने र खाना खाने समय एउटै पर्न गएछ। भोज पनि खान पाइहालिन्छ र सिन्दूर हालेको पनि हेर्नुपर्छ भन्ने सोच छँदै थियो। अलिकति भोक लागेकाले म र करिब ५–७ जना साथीहरू बाहिर कफी खान गयौँ। संयोगवश, हामी बाहिर गएकै समयमा भोज खुवाउने र सिन्दूर हाल्ने काम एकैसाथ सकिएछ।

त्यसपछि विवाद सुरु भयो। हाम्रो सात जनाको टोलीले सिन्दूर हालेको पनि देख्न पाएनौँ र भोज खान पनि पाएनौँ। हामीले कुरा उठायौँ, विवाद बढ्यो। दुलहीका बुबा अवकाशप्राप्त सैनिक हुनुहुँदोरहेछ। हामीले त एक किसिमको आन्दोलन नै गर्‍यौँ— भोज नखाई र सिन्दूर हालेको नहेरी विवाहलाई मान्यता नदिने घोषणा नै गर्‍यौँ। विवाह दर्ता नगर्न वडा अध्यक्षलाई निवेदनसम्म दियौँ, तर जति आन्दोलन गरे पनि हाम्रो केही लागेन; विवाह दर्ता भयो र विवाह सम्पन्न भयो। अन्ततः हामीले बुझ्यौँ कि अब विवाद गरिरहनु मूर्खता हो, त्यसैले शान्त भएर बस्यौँ।

एक वर्ष अगाडि भएको 'जेन-जी आन्दोलन' को प्रकृति र यथार्थलाई नियाल्दा ठीक यस्तै स्थिति देखिन्छ। आन्दोलनको सुरुआती चरणमा जेन-जीहरू हामी जन्ती गएझैँ आन्दोलनको अग्रपङ्क्तिमा उभिएका थिए। उनीहरूलाई जन्ती लगिएझैँ फकाएर बोलाइएको थियो र आन्दोलनमा सहभागी गराइएको थियो। उनीहरूलाई लाग्छ कि जेन-जीकै कारणले गर्दा यो ठूलो राजनीतिक विद्रोह भयो, ठीक जसरी हामीलाई हाम्रै कारणले त्यो विवाह सम्पन्न भएको हो भन्ने लागेको थियो। तर परिणाम स्वरूप न उनीहरूको सोझो राजनीतिक पहुँच वा सत्ता आयो, न त उनीहरूका मागहरू नै सम्बोधन भए; जसरी हाम्रो पनि माग सम्बोधन भएको थिएन।

हामीले त समयमै परिधिको सीमा बुझेर शान्त रहने बाटो रोज्यौँ, तर आन्दोलनकारी युवाहरूले अझै यो यथार्थ धरातल पूर्ण रूपमा बुझ्न बाँकी देखिन्छ। उनीहरू अहिले पनि प्रश्न गरिरहेका छन्— प्रधानमन्त्री बालेन्द्र साह किन जेन-जीको कार्यक्रममा आएनन् वा घाइतेहरूलाई भेट्न किन कहिल्यै गएनन्? यसैबीच सरकारका केही मन्त्रीहरू भने जेन-जीका कार्यक्रममा पुगेको पनि देखियो।

यो प्रसङ्ग विवाहमा सिन्दूर हेर्न र भोज खान नपाएर रिसाएका हामी साथीहरूलाई सन्तुष्ट पार्न बेहुलाको भाइ (मेरो साथी) ले पछि भतिजको पास्नी र दाइको विवाह वर्षगाँठमा असन्तुष्ट सबैलाई बोलाए जस्तै हो। त्यो निमन्त्रणामा असन्तुष्टमध्ये कोही गए, कोही गएनन्; म स्वयं पनि पोखरा जानुपर्ने भएकाले गइनँ। सरकारका केही मन्त्रीहरू जेन-जीका कार्यक्रममा जानु पनि असन्तुष्ट बनेकाहरूलाई फकाउन र आश्वस्त पार्न गरिएको एउटा औपचारिक प्रयास मात्र हो।

त्यसैले, जेन-जीहरूले अब आन्दोलनको यो भावनात्मक वृत्तबाट बाहिर निस्किएर यथार्थ धरातल र राजनीतिक प्रक्रियालाई बुझ्न अपरिहार्य छ। आन्दोलनपछिको परिस्थितिमा आन्दोलनकारी जेन-जी तथा घाइतेहरूले आफ्नो राजनीतिक र सामाजिक भविष्यलाई यथार्थपरक तरिकाले सोचेर आफ्नो कदम अगाडि बढाउनु आवश्यक छ।

आन्दोलनका क्रममा जीवन गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, आन्दोलनमा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँहरूले भोग्नुपरेको शारीरिक तथा मानसिक पीडाप्रति हार्दिक सहानुभूति प्रकट गर्दछौँ।

सम्पादकीय टिप्पणी: यस लेखको नैतिक सन्तुलन र विश्वसनीयतालाई कायम राख्न यो स्पष्ट पार्न चाहन्छौँ कि कुनै पनि व्यक्तिगत प्रसङ्ग वा तुलनाले मानव जीवनको क्षति र बलिदानको गम्भीरतालाई पूर्ण रूपमा समेट्न सक्दैन। यहाँ प्रस्तुत गरिएको तुलनालाई केवल राजनीतिक गतिशीलता र यथार्थलाई स्पष्ट पार्ने दृष्टान्तका रूपमा मात्र लिइनुपर्छ, आन्दोलनमा सहभागीहरूको योगदान वा बलिदानलाई कम आँक्ने उद्देश्य यसको होइन।