बैतडीमा निर्वाचन सुरक्षासँग सम्बन्धित तालिम सकेर फर्किने क्रममा एक प्रहरीको भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ।

मंगलबार राति करिब साढे ८ बजे दशरथचन्द नगरपालिका–५ स्थित चमखाली खेल मैदानमा सञ्चालन भएको तालिम पूरा गरी घर फर्किने क्रममा ३२ वर्षीय प्रकाश चन्द दुर्घटनामा परेका हुन्। उनी दशरथचन्द नगरपालिका–४ का बासिन्दा थिए।

फर्किने बाटोमा खरकटे सल्लेरी भिर क्षेत्रबाट लड्दा उनी करिब अढाई सय मिटर तल खसेको बताइएको छ। घटनास्थलमै उनको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेब बडूका अनुसार घटनाको विवरण संकलन गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ। तालिमपछि रातिको आवतजावत जोखिमपूर्ण हुन सक्ने भन्दै सतर्कता आवश्यक देखिएको छ।