काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३१ बस्ने धादिङ थार्के गाउँपालिका–७ घर भएका २४ वर्षीय अन्जन भुजेल, काठमाडौं महानगरपालिका–२६ बस्ने सल्यान वनगाड कुपिण्डे नगरपालिका–४ घर भएका ३१ वर्षीय नविन दमाई, तथा कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने काभ्रे महाभारत गाउँपालिका–६ घर भएका ५२ वर्षीय पुर्ण बहादुर वाईबा रहेका छन्।
प्रहरीका अनुसार अन्जन भुजेलले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ५ जना पीडितबाट १७ लाख १० हजार रुपैयाँ र नविन दमाईले ग्रीस पठाइदिन्छु भन्दै २ जना पीडितबाट २ लाख ६० हजार रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएका थिए। यसैगरी पुर्ण बहादुर वाईबाले जर्जिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अन्जन भुजेललाई काठमाडौं महानगरपालिका–३१, नविन दमाईलाई काठमाडौं महानगरपालिका–३२ र पुर्ण बहादुर वाईबालाई कागेश्वरी मनोहरा नगरपालिका–६ क्षेत्रबाट पक्राउ गरेको हो।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।