नेपाल र भारतबीच ऊर्जा क्षेत्र सहयोगसम्बन्धी १३औं संयुक्त निर्देशक समितिको बैठक आज पोखरामा सम्पन्न भएको छ। द्विपक्षीय ऊर्जा सहयोगको विस्तृत समीक्षा गर्न आयोजना गरिएको उक्त बैठकको सह-अध्यक्षता नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी र भारत सरकारको ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवालले गर्नुभएको थियो। यस निर्देशक समितिको बैठकअघि मंगलबार ऊर्जा क्षेत्र सहयोगसम्बन्धी १३औं संयुक्त कार्यदलको बैठक सम्पन्न भएको थियो, जसको सह-अध्यक्षता नेपालका सहसचिव सन्दीपकुमार देव र भारतका सहसचिव पंकज कुमारले गर्नुभएको थियो।

बैठकका क्रममा दुवै पक्षले जलविद्युत आयोजनाको विकास, विद्युत व्यापार र प्रसारण पूर्वाधारलगायत द्विपक्षीय ऊर्जा क्षेत्रको सहयोगको विस्तृत समीक्षा गरेका छन्। दुवै देशका प्रतिनिधिहरूले ४०० केभी गोरखपुर-न्यू बुटवल प्रसारण लाइनसहित नयाँ प्रसारण लाइन निर्माणमा भएको प्रगतिको प्रशंसा गरेका छन्। यसका साथै चालु तथा प्रस्तावित जलविद्युत उत्पादन र प्रसारण आयोजनाहरूको कार्यान्वयनलाई द्रुत गतिमा अघि बढाउने र सहजीकरण गर्ने उपायहरूबारे पनि छलफल भएको छ।
यसैगरी बैठकमा नेपाल र भारतका विद्युत ग्रिडहरूको समन्वयात्मक सञ्चालन, सौर्य ऊर्जा आयोजनाहरूको विकास, हरित हाइड्रोजनमा सहयोग र नेपाली विज्ञहरूको क्षमता अभिवृद्धि गर्ने विषयमा गहन छलफल भएको थियो। संयुक्त निर्देशक समितिको बैठक अगाडि भारतका ऊर्जा सचिव पंकज अग्रवालले मंगलबार नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो।
यी बैठकहरूमा भएका छलफलले नेपाल र भारतबीचको ऊर्जा क्षेत्रको सहयोगलाई थप सुदृढ बनाउन र क्रस-बोर्डर विद्युत पूर्वाधारको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।