आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा खेलिएको श्रृंखलाको अन्तिम भिडन्तमा नेपालले ऐतिहासिक सफलता हात पारेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले भ्रमणकारी टोली अमेरिकामाथि १२२ रनको फराकिलो जित दर्ता गरेको हो ।

नेपालले प्रस्तुत गरेको ३१८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा अमेरिकी टोली ४१.१ ओभरमा मात्र १९५ रन जोड्दै अलआउट हुन पुग्यो ।

अमेरिकाका लागि सञ्जय कृष्णमुर्तीले सर्वाधिक ५६ रनको अर्धशतकीय योगदान दिए पनि त्यो टोलीलाई जित दिलाउन पर्याप्त भएन । अन्य ब्याटरहरूमा नेत्र केन्जिगेले २९, शयान जहांगीरले २७ र शेहान जयसुरियाले २६ रन जोडे । कप्तान शैतेजा मुक्कामुल्ला २२ रनमा समेटिँदा टोलीका अन्य सदस्यहरू सस्तैमा पभेलियन फर्किएका थिए ।

नेपालको जितमा बलरहरूको प्रदर्शन उत्कृष्ट रह्यो । स्पिनर सन्दीप लामिछानेले कसिलो बलिङ गर्दै विपक्षीका ३ विकेट चट्काए । यस्तै दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले समान २–२ विकेट लिए भने सोमपाल कामीको भागमा १ विकेट रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा ३१७ रनको बलियो योगफल तयार पारेको थियो । नेपालका लागि इशान पाण्डे र उपकप्तान दीपेन्द्रसिंह ऐरीले विस्फोटक अर्धशतकीय इनिङ्स खेले ।

लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरेका इशानले ८३ बलमा ८ चौका र १ छक्काको मद्दतले सर्वाधिक ८४ रनको योगदान दिए । उनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ११० रनको महत्वपूर्ण शतकीय साझेदारी गरेका थिए । कप्तान रोहित भने ४६ रन बनाएर आउट भए ।

त्यसअघि ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले ६९ रनको बलियो साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । कुशल २९ रन र आसिफ ४३ रन बनाउँदै बाहिरिए । मध्यक्रममा आएका दीपेन्द्रले आक्रामक ब्याटिङ गर्दै मात्र ३६ बलमा ४ चौका र ४ छक्का प्रहार गरी ५९ रनको इनिङ्स खेले । आरिफ शेख १७ रनमा अविजित रहे ।

बलिङतर्फ अमेरिकाका शुभम रञ्जनेले २ विकेट लिए भने मिलिन्द कुमार र रुशिल उगर्कारले १–१ विकेट हात पारे ।

घरेलु दर्शकहरूको उल्लेख्य उपस्थितिमा प्राप्त यो जितले नेपाली टोलीको आगामी लिग–२ का खेलहरूका लागि मनोबल उच्च बनाएको छ ।