आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज संयुक्त अरब इमिरेट्ससँग पहिलो अभ्यास खेल खेल्दैछ। भारतमा प्रशिक्षण गरिरहेको टोली वार्म-अप खेलका लागि मुम्बईबाट चेन्नई पुगेको हो।
नेपालले चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा दुई अभ्यास खेल खेल्ने तालिका छ। पहिलो खेल आज यूएईसँग र दोस्रो खेल क्यानडासँग हुनेछ। नेपाली समयअनुसार आजको खेल साँझ ५ बजेर १५ मिनेटमा सुरु हुनेछ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार विश्वकप खेलिने मैदानमै अभ्यास खेल खेल्दा टोलीलाई पिच, मौसम र खेल वातावरणसँग घुलमिल हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। समूह ‘सी’ मा रहेको नेपालले इटाली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग पनि प्रतिस्पर्धा गर्नेछ। समूह चरणका सबै खेल नेपालले मुम्बईमा खेल्ने तालिका छ।
यसअघि नेपालले सन् २०१४ र २०२४ को टी–२० विश्वकप खेलिसकेको छ।