नेदरल्यान्ड्स महिला क्रिकेट टोलीले पहिलो पटक महिला टी-२० विश्वकपमा स्थान सुरक्षित गरेको छ। नेपालमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायरको सुपर सिक्स चरणमा अमेरिकामाथि जित निकाल्दै टोलीले ऐतिहासिक उपलब्धि हात पारेको हो।
त्रिवी क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १२९ रन बनायो। १३० रनको लक्ष्य पछ्याउँदै नेदरल्यान्ड्सले १२ ओभरमा २ विकेटको क्षतिमा ९० रन बनाइसकेको अवस्थामा वर्षाले खेल रोकियो।
पछि नतिजा डकवर्थ–लुइस–स्ट्रेन (डीएलएस) विधिबाट तय हुँदा नेदरल्यान्ड्स २१ रनले विजयी ठहरियो र विश्वकपका लागि छनोट भयो।
समूह चरणबाट ४ अंकसहित सुपर सिक्समा पुगेको नेदरल्यान्ड्ससँगै बंगलादेश महिला टोलीले पनि विश्वकप २०२६ मा स्थान बनाएको छ। बंगलादेश समूह एबाट ४ अंकसहित सुपर सिक्समा पुगेको थियो र पहिलो खेल जित्दै छनोट सुनिश्चित गर्यो।
इङ्ल्यान्ड्स र वेल्समा संयुक्त रूपमा आयोजना हुने प्रतियोगितामा ग्लोबल क्वालिफायरबाट अब थप दुई टोली सहभागी हुनेछन्।