काठमाडौँ । देशको नयाँ राजनीतिक समीकरण र सत्ता संघर्ष चुलिँदै जाँदा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पुनः राजनीति र शक्ति सन्तुलनको मुख्य केन्द्रमा देखिएका छन्। वर्तमान प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने—दुवैले आ-आफ्नो राजनीतिक रणनीति सफल बनाउन प्रचण्डलाई ब्यालेन्स गर्दै अघि बढ्ने नीति लिएका छन्।

पछिल्लो समय रास्वपा सभापति रवि लामिछाने र प्रचण्डबीच बाक्लो संवाद भइरहेको छ। प्रत्यक्ष भेटघाटका साथै टेलिफोनवार्तामार्फत नियमित सम्पर्कमा रहेका लामिछानेले परिस्थिति अनुकूल बनेमा आफू देशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न पूर्ण रूपमा तयार रहेको सन्देश प्रचण्डलाई दिएका छन्। सो क्रममा लामिछानेले आफ्नो पक्षमा अन्तर्राष्ट्रिय माहोल अनुकूल बनाइदिन र आवश्यक कूटनीतिक समन्वय गरिदिन प्रचण्डसँग विशेष आग्रह गरेको स्रोतको दाबी छ। प्रचण्डको लामो राजनीतिक अनुभव र अन्तर्राष्ट्रिय पहुँचलाई प्रयोग गर्दै आफ्नो नेतृत्वलाई सर्वस्वीकार्य बनाउने रणनीतिमा लामिछाने देखिन्छन्।

अर्कोतर्फ, प्रधानमन्त्री बालेन शाह पनि प्रचण्डलाई सन्तुलनमा राख्न उत्तिकै सतर्क देखिएका छन्। बालेन नेतृत्वको सरकारले नेपाली कांग्रेस र नेकपा (एमाले) का शीर्ष नेताहरूविरुद्ध आक्रामक रूपमा भ्रष्टाचार तथा विभिन्न काण्डमा अनुसन्धान अघि बढाउने र गिरफ्तारी गर्नेसम्मको कदम चालेको छ। तर, प्रचण्ड र उनका निकटवर्ती नेताहरू भने सरकारको यो कारबाहीको दायराभन्दा बाहिरै रहेका छन्।

प्रचण्डनिकट नेता कृष्णबहादुर महरामाथि केही कानुनी प्रक्रिया अघि बढे तापनि उनले कुनै ठूलो कानुनी जटिलता वा कठोर कारबाहीको सामना गर्नु परेन। महरा बाहेक प्रचण्डका अन्य कुनै पनि मुख्य नेता वा सहयोगीमाथि गम्भीर अनुसन्धान नहुनुले बालेन र प्रचण्डबीच रणनीतिक 'लेनदेन' र समझदारी रहेको प्रस्ट पार्छ। प्रचण्डका मान्छेहरूमाथि अनुसन्धान नगरेरै बालेनले आफ्नो सत्ता अड्याउने र राजनीतिक सन्तुलन मिलाउने काम गरिरहेको विश्लेषण गरिएको छ।

यसरी एकातिर रवि लामिछानेले प्रधानमन्त्री बन्ने आकांक्षासहित प्रचण्डमार्फत अन्तर्राष्ट्रिय समर्थन र राजनीतिक सहकार्यको बाटो खोजिरहेका छन् भने अर्कोतिर प्रधानमन्त्री बालेन शाहले छानबिनमा लचकता अपनाउँदै प्रचण्डलाई ब्यालेन्समा राख्ने रणनीति अपनाएका छन्। दुवै युवा नेताको यो ब्यालेन्सिङ खेलले वर्तमान राजनीतिमा प्रचण्डको भूमिका अझै पनि कति निर्णायक छ भन्ने पुष्टि गर्दछ।