राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार निर्माणको गृहकार्य तीव्र भइरहँदा सबैभन्दा शक्तिशाली मानिने गृह मन्त्रालयको साँचो कसले लिने भन्ने विषयमा चर्को आन्तरिक द्वन्द्व सुरु भएको छ। भावी प्रधानमन्त्रीका रूपमा अघि सरेका पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र पार्टी सभापति रवि लामिछानेबीच यसै मन्त्रालयलाई लिएर भित्रभित्रै रोचक शीतयुद्ध चलिरहेको छ। सरकारको नेतृत्व सम्हाल्न लागेका बालेन आफ्नो कार्यशैलीलाई साथ दिने टिमको खोजीमा छन् भने सभापति लामिछाने जसरी पनि सत्ताको लगाम आफ्नो 'कोर टिम' मै राख्न चाहन्छन्। यस्तो अवस्थामा बालेन समूह कुनै पनि हालतमा 'रवि लामिछाने क्लब (रलाक्)' लाई गृह मन्त्रालय सुम्पिने पक्षमा देखिएको छैन।
पार्टीभित्र र बाहिर आफ्नो प्रभाव कायम राख्ने रणनीतिका साथ अहिले रवि समूहले उपसभापति डिपी अर्याललाई गृहमन्त्री बनाउने चर्चा बजारमा ल्याएको छ। तर, पार्टीका उच्च तहका जानकारहरूका अनुसार यो केवल जनता र पार्टीभित्रको माहोल बुझ्नका लागि फालिएको एउटा चलाख 'मिडिया ट्रायल' मात्र हो। रास्वपाको उच्च स्रोतले यस विषयमा प्रस्ट पार्दै भनेको छ, "रास्वपा भित्रको 'रवि लामिछाने क्लब' ले गृह मन्त्रालय खोज्नु पूर्ण रूपमा स्वाभाविक हो, अहिले डिपी अर्यालको नामबाट भइरहेको मिडिया ट्रायल पनि यसै रणनीतिको उपज हो।"
झन् रोचक कुरा त के छ भने, डिपी अर्यालको नामलाई केवल ध्यान मोड्ने अस्त्र वा 'डिकोय' का रूपमा मात्र प्रयोग गरिएको दाबी स्रोतको छ। मिडिया र पार्टी वृत्तमा डिपीको नामले पर्याप्त चर्चा पाइसकेपछि र त्यसलाई लिएर नक्कली बहस सुरु भएपछि मात्र सभापति लामिछानेले आफ्नो वास्तविक 'ट्रम्प कार्ड' खेल्नेछन्। अन्तिम समयमा आएर रविले गृह मन्त्रालयको नेतृत्वका लागि डिपी अर्यालको सट्टा आफ्नो अति विश्वासपात्र दीपक बोहोराको नाम प्रस्ताव गर्ने भित्री तयारी र तानाबाना बुनिसकेका छन्।
मन्त्रीको दौडमा अघि सारिएका दीपक बोहोरा राजनीतिमा आउनुअघि एक चर्चित पूर्व पत्रकार हुन्, जसले लामो समय रवि लामिछानेसँगै सहकर्मीका रूपमा काम गरेका थिए। उनी रविको बहुचर्चित टेलिभिजन कार्यक्रम 'सीधा कुरा' का कार्यक्रम निर्माता (प्रोग्राम प्रोड्युसर) समेत रहेर काम गरिसकेका अत्यन्तै नजिकका व्यक्ति हुन्। सञ्चारकर्मदेखि नै रविको हरेक सुखदुःख र रणनीतिका सारथी रहेका बोहोरालाई नै गृह प्रशासनको तालाचाबी सुम्पिएर रवि आफ्नो शक्तिलाई पर्दा पछाडिबाट नियन्त्रण गर्न चाहन्छन् भन्ने विश्लेषण पार्टीभित्र हुन थालेको छ।
तर, बालेन र उनको समूह 'रवि लामिछाने क्लब' का यी सबै भित्री रणनीति र 'प्लान बी' बारे पूर्ण रूपमा जानकार र सतर्क देखिएको छ। सरकारको सफल नेतृत्व गर्ने हो भने गृह प्रशासनमा आफ्नै विश्वासिलो पकड हुनुपर्छ भन्नेमा बालेनको स्पष्ट र कठोर अडान छ। त्यसैले उनले रविका पूर्व सहकर्मी वा कुनै पनि विश्वासपात्रलाई गृह मन्त्रालय नदिने स्पष्ट सन्देश प्रवाह गरिसकेका छन्, जसले गर्दा रास्वपाभित्र आगामी दिनमा मन्त्रिमण्डल विस्तारको यो प्रक्रिया झनै पेचिलो र रोचक बन्ने निश्चित छ।