देशभरका उद्यमी तथा नवप्रवर्तकलाई प्रत्यक्ष लगानी पहुँच उपलब्ध गराउने उद्देश्यसहित १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेण्ट पब्लिक लिमिटेड सञ्चालनमा आएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजधानीमा आयोजित कार्यक्रममा आफ्नो कार्यकालमा उद्योगी, व्यवसायी र गैरआवासीय नेपालीको सहभागितामा उक्त कम्पनी स्थापना गरिएको जानकारी दिए। उनका अनुसार कम्पनीले ७७ वटै जिल्लाका उद्यमीलाई लगानी उपलब्ध गराउने संरचना तयार गरेको छ।
ढकालले नवप्रवर्तन प्रवर्द्धन र उद्योग–व्यवसाय विस्तारलाई केन्द्रमा राखेर एनडीपी सञ्चालनमा ल्याइएको बताए। कम्पनीले जिल्ला–जिल्लाबाट शेयर होल्डिङ स्वामित्वको अवधारणामा अघि बढ्दै नयाँ व्यवसाय सुरु गर्न चाहने उद्यमीलाई पुँजी सहयोग गर्ने उनले स्पष्ट पारे।
उनका अनुसार १० अर्बको चुक्ता पुँजीलाई इक्विटीका रूपमा उपयोग गर्दा ४० देखि ५० अर्ब रुपैयाँसम्मका ठूला परियोजनामा लगानी गर्ने अवस्था सिर्जना भइसकेको छ। त्यसअनुसारको संस्थागत संरचना समेत तयार गरिएको उनले बताए।
यसैबीच, अध्यक्ष ढकालले आफ्नो कार्यकालमा डेडिकेटेड लाइन भुक्तानीसम्बन्धी विवाद चर्किएको स्मरण गर्दै दीर्घकालीन समाधानका लागि अर्धन्यायिक आयोग गठन गर्न महासंघले पहल गरेको उल्लेख गरे। लाल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउन उनले आग्रहसमेत गरे।
नयाँ कम्पनीको सञ्चालनसँगै निजी क्षेत्रमार्फत पुँजी परिचालनको नयाँ ढाँचा निर्माण गर्ने प्रयास सुरु भएको महासंघले जनाएको छ।