काठमाडौँको माइतीघर मण्डलामा साउन १४ गतेदेखि लगातार १३ दिनसम्म आमरण अनशनमा बस्नुभएका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले अनशन स्थगित गर्नुभएको छ। सरकारसँग चारबुँदे लिखित सहमति भएपछि उहाँले अनशन तत्कालका लागि फिर्ता लिनुभएको हो।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा घटेको हिंसात्मक घटनाका पीडितलाई न्याय, दीर्घकालीन नीतिगत स्पष्टता र सुरक्षा व्यवस्थाको प्रत्याभूतिका लागि अध्यक्ष यादवले ६ बुँदे माग अघि सार्नुभएको थियो। उक्त माग पूरा गराउन उहाँ राजधानीमा अनशनमा हुनुहुन्थ्यो।

राष्ट्रिय एकता दलका केन्द्रीय सदस्य मनिष पुर्वेले जारी गर्नुभएको विज्ञप्तिअनुसार सरकारले चारबुँदे सम्झौतामार्फत माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएपछि अनशन स्थगित गरिएको हो। सरकारले व्यक्त गरेको प्रतिबद्धताअनुरूप पीडित परिवारले शीघ्र न्याय पाउनेमा दलले विश्वास व्यक्त गरेको छ।

अध्यक्ष यादवले साना कन्या (कुमारी) को हातबाट जुस पिएर अनशन स्थगित गर्नुभएको छ। अनशन फिर्ता लिए पनि हिन्दु धर्म, संस्कृति र पहिचानको संरक्षणका लागि आवश्यकता अनुसार आगामी दिनमा आन्दोलन जारी राख्ने प्रतिबद्धता दलले व्यक्त गरेको छ।


