नेपाली मिक्स मार्शल आर्ट्स (एमएमए) का उदीयमान खेलाडी रवीन्द्र ढाँट आज चीनको सांघाई इन्डोर स्टेडियममा आफ्नो खेल जीवनकै सबैभन्दा ठूलो प्रतिस्पर्धामा उत्रिँदैछन्। 'रोड टु युएफसी' को पाँचौँ संस्करणअन्तर्गत बान्टमवेट विधाको सेमिफाइनलमा सफलता हात पार्दै युएफसीको ऐतिहासिक यात्रा पूरा गर्ने लक्ष्य ढाँटको छ।

'बझाङको बाघ' उपनामले परिचित १०–१–० को रेकर्ड बनाएका ढाँटले गत मे महिनामा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा नकआउट गर्दै सेमिफाइनल यात्रा तय गरेका थिए। सेमिफाइनल भिडन्तअघि ढाँट र उनका प्रतिस्पर्धी दुवैले निर्धारित १३५.५ पाउन्ड तौल सफलतापूर्वक पूरा गरिसकेका छन्।

ADVERTISEMENT Xtreme - Inside

ढाँटका सामु आठ जित र शून्य हारको निष्कलंक कीर्तिमान बोकेका न्युजिल्यान्डका कासिब 'मर्डर' मर्डक मुख्य चुनौतीका रूपमा प्रस्तुत हुँदैछन्। यो प्रतिस्पर्धा ढाँटका लागि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रमाणित गर्ने बलियो अवसर बनेको छ।

कूल नौ खेलमध्ये छैटौँ नम्बरमा रहेको यो भिडन्त नेपाली समयअनुसार अपरान्ह ४:१५ देखि ५:३० बजेको बीचमा सुरु हुने अनुमान गरिएको छ। खेलको प्रत्यक्ष प्रसारण युएफसी फाइट पास तथा सोनी टेन २ बाट भइरहेको छ भने काठमाडौँ, ललितपुर र पोखराका विभिन्न स्थानमा विशेष स्क्रिनिङको व्यवस्था गरिएको छ। यस प्रतियोगिताको फाइनल जिते ढाँट युएफसी सम्झौता हात पार्ने पहिलो नेपाली एमएमए खेलाडी बन्नेछन्।