एसबि साह - काठमाडौँ। नेपालको जलविद्युत् आयोजना क्षेत्र, विशेष गरी रसुवा, टिमुरे र त्रिशूली तटीय क्षेत्रमा भदौ १० मा आएको भीषण लेदोसहितको विनाशकारी बाढीले देशलाई ठूलो त्रासदीमा धकेलेको छ। त्रिशूली ३ 'ए' लगायतका विभिन्न जलविद्युत् आयोजनाका अँध्यारो सुरुङभित्र सयौँ श्रमिकहरू जीवन र मृत्युको दोसाँधमा अड्किएका थिए। घटनाको ९ दिनपछि सञ्जय साह र कविर महर्जन सकुशल जीवितै निस्किनुले बाँकी सुरुङहरूभित्र पनि जीवन अझै बाँकी रहेको आशा जगाएको छ। तर, यस घटनाले राज्यको विपद् व्यवस्थापन र समयको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ।

समयको मूल्य र वैदेशिक सहयोगमा ढिलाइ

हामी घडीको सुईमा समय बगेको देख्न त सक्छौँ, तर बितिसकेको समयलाई कहिल्यै फर्काउन सक्दैनौँ। विपद्‌को पहिलो चार दिनसम्म सरकारले सुरुङतर्फ पर्याप्त ध्यान नदिनु र भारत तथा चीनबाट आउन तयार भएका प्रविधियुक्त अन्तर्राष्ट्रिय उद्धार टोलीलाई समयमै भित्र्याउन नसक्नु ठूलो कूटनीतिक तथा प्रशासनिक चूक ठहरिएको छ। "सुरुङको लेदो सोहोर्ने मेसिन संसारमै छैन" भन्ने गैरजिम्मेवार भनाइ र ढिलासुस्तीका कारण सुरुवाती अमूल्य समय गुम्न पुग्यो। यदि विपद्‌को सुरुआतमै आधुनिक प्रविधिसहितको विदेशी सहयोग परिचालन गरिएको भए आज सयौँ नागरिकको जीवन बचाउन सकिन्थ्यो।

जलवायु न्याय र छिमेकी चीनको गैरजिम्मेवारी

संयुक्त राष्ट्रसङ्घको महासभा (युएनजीए) तथा अमेरिका भ्रमणको तयारीमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले विश्व मञ्चमा नेपालको यो त्रासदी र जलवायु न्यायको मुद्दा जोडदार रूपमा उठाउन आवश्यक छ। विश्वकै शीर्ष कार्बन उत्सर्जक छिमेकी मुलुक चीनको वातावरणीय लापरवाहीका कारण नेपालले भारी मूल्य चुकाउनु परिरहेको छ। अत्यधिक औद्योगिक प्रदूषण र अव्यवस्थित शहरीकरणका कारण चीनका ओर्डोस काङ्बासी, युमेन र लान्झाउ न्यू एरिया जस्ता भूभागहरू आज 'गोस्ट सिटी' (मृत सहर) मा परिणत भइसकेका छन्। बाढीको संकटपूर्ण समयमा नेपाललाई आवश्यक पर्ने सीमापार 'हाइड्रोलोजिकल डेटा' र पूर्वसूचना समेत उपलब्ध नगराउने चीनको असंवेदनशीलताले नेपाललाई नै 'गोस्ट कन्ट्री' बनाउने खतरा बढाएको छ। अन्तर्राष्ट्रिय समुदायले यस्ता गैरजिम्मेवार कार्बन उत्सर्जक राष्ट्रहरूलाई कडा कारबाही र जवाफदेहीको दायरामा ल्याउनै पर्छ।

प्रचारबाजीमा अल्झिएको सरकारी प्राथमिकता

नागरिकको ज्यान जोखिममा हुँदा उद्धारभन्दा प्रचारबाजीलाई प्राथमिकता दिने सरकारी शैलीप्रति आम जनतामा तीव्र आक्रोश छ। प्रधानमन्त्री ज्यू, अमेरिका भ्रमणबाट फर्किँदा गृहमन्त्री ज्यूका लागि एउटा राम्रो क्यामेरा ल्याइदिनुहोला, जसले गर्दा उद्धार कार्यको फोटो-भिडियो खिच्दा 'फोरके क्वालिटी' को आओस्! साथै एउटा 'हाई कन्फिगरेसन' को 'गेमिङ ल्यापटप' पनि ल्याइदिनुहोला, जसले फिल्डबाटै भिडियो रेन्डर गरेर तुरुन्तै अपलोड गर्न सकियोस्। उद्धार कार्य जतिनै ढिला भए पनि गृहमन्त्रीको भिडियो त जनताले समयमै हेर्न पाउनैपर्छ!